१० बैंकले घोषणा गरे गत आवको लाभांश
वि.सं.२०७९ मंसिर २ शुक्रवार १७:१६
shares
फाइल तस्विर
काठमाडौं, २ कात्तिक । १० वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेका छन् । सञ्चालनमा रहेका बैंकहरुमध्ये १० वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को लाभांश प्रस्ताव गरेका हुन् ।
बैंकहरुले प्रस्ताव गरेको लाभांशमा ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस शेयर र १०.६ प्रतिशत नगद शेयर गरी कुल १३.६ प्रतिशत प्रस्ताव गरेको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १६.५१ प्रतिशत (कर बाहेक) लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एभरेष्ट बैंकले आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश दिने भएको प्रस्ताव गरेको छ ।
यता मेगा बैंकले आफ्ना शेयधनीहरुलाई गत आवको मुनाफाबाट ७.८३ प्रतिशत लाभांश दिने भएको हो । बैंकले चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम रहेको चुक्तापुँजी ११ अर्ब १३ करोड रुपैयाँबाट ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, सिटिजन्स बैंकले शेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ ।
कुमारी बैंकले गत आर्थिक वर्षले मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले बोनस शेयर भने प्रस्ताव गरेको छैन । सानिमा बैंकले १०.९८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद शेयर गरी कुल २० दशमलव ९५ प्रतिशत बोनास वितरण गर्ने घोषणा गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वकृति भई बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र शेयरधनीहरुका लागि वितरण हुने छ ।

















