Dhulikhel Eco Banner new

लगानीको द्विविधा: १० वर्षको तथ्यांकमा सुनको चमक, तर पुँजी बजारमा कम्पाउन्डिङको अवसर

611
shares

आम नागरिक तथा लगानीकर्तामा सधैं एउटा साझा प्रश्न उठ्ने गर्छ— दुःख गरेर कमाएको पैसा कहाँ लगानी गर्ने? बैंकको मुद्दती खाता (एफडी), सुन, घरजग्गा, म्युचुअल फन्ड वा सेयर बजार? लगानीको अर्थ आज पैसा कहाँ थुपार्ने भन्ने मात्र होइन, आगामी ५ देखि १० वर्षमा त्यो पुँजीले कति सम्पत्ति (वेल्थ) सिर्जना गर्न सक्छ भन्ने हो। नेपालको परिप्रेक्ष्यमा लगानीका यी विभिन्न क्षेत्रका आ-आफ्नै विशेषता, जोखिम र प्रतिफलका दरहरु छन्। एउटा सामान्य लगानीकर्ताले लहैलहैमा लागेर होइन, यथार्थ तथ्यांक र बजारको प्रकृति बुझेर मात्र पोर्टफोलियो व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

पछिल्लो एक दशक (सन् २०१६ देखि २०२६ सम्म) को तथ्यांकलाई विश्लेषण गर्दा सुनले पुँजी बजारको सूचक (नेप्से) लाई प्रतिफलको हिसाबमा निकै पछाडि पारेको छ। सन् २०१६ को मे महिनामा प्रतितोला करिब ५३ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य सन् २०२६ सम्म आइपुग्दा ३ लाख ६ हजार ५ सय रुपैयाँको हाराहारीमा पुगेको छ। यस हिसाबले १० वर्षमा सुनमा करिब ४७२ प्रतिशतको मूल्य वृद्धि देखिन्छ। अर्कोतर्फ, यही अवधिमा नेप्से सूचक करिब १,२६२ विन्दुबाट बढेर २,६७२ को आसपास पुगेको छ, जुन इन्डेक्सका आधारमा करिब ११२ प्रतिशतको मात्र वृद्धि हो। यो तथ्यांकले ‘सेयर बजारले मात्र सबैभन्दा बढी प्रतिफल दिन्छ’ भन्ने आम धारणालाई चुनौती दिन्छ।

तथ्यांकमा सुनको मूल्य वृद्धि आक्रामक देखिए पनि, पुँजी बजारको लगानीको प्रकृति र उद्देश्य भने नितान्त फरक हुन्छ। पुँजी बजार भनेको केवल नेप्सेको ‘चार्ट’ वा सूचक किनबेच गर्ने प्लेटफर्म मात्र होइन। यहाँ लगानीकर्ताले राम्रा र सम्भावना बोकेका कम्पनीको स्वामित्व खरिद गरिरहेका हुन्छन्। कम्पनीको व्यापार विस्तार हुँदा, नाफा बढ्दा र रिजर्भ बलियो हुँदा लगानीकर्ताले नगद लाभांश तथा बोनस सेयर प्राप्त गर्छन्। सुन वा जग्गाले आफैं उत्पादन गरेर वार्षिक प्रतिफल दिँदैनन्, तिनीहरुको फाइदा भनेको मूल्य वृद्धि (क्यापिटल एप्रिसिएसन) मात्र हो। तर, सेयर बजारमा लगानीकर्ताले कम्पनीको व्यावसायिक वृद्धिमा प्रत्यक्ष हिस्सेदारी पाउने भएकाले लामो समयमा ‘कम्पाउन्डिङ’ (चक्रवृद्धि) मार्फत ठूलो सम्पत्ति जोड्ने अवसर रहन्छ।

नेपाली समाजमा परम्परागत रूपमै घरजग्गा (रियल इस्टेट) लाई लगानीको सबैभन्दा सुरक्षित र आकर्षक क्षेत्र मानिन्छ। यो देखिने (ट्यान्जिबल) सम्पत्ति हुनुका साथै यसबाट भाडाको आम्दानी पनि लिन सकिन्छ। तर, घरजग्गामा लगानी गर्न एकमुस्ट ठूलो पुँजी आवश्यक पर्छ र आपत्कालीन अवस्थामा यसलाई तत्काल बेचेर नगदमा परिणत गर्न (तरलता) निकै कठिन हुन्छ। यसको तुलनामा सेयर बजार निकै तरल हुन्छ, जहाँ बजार खुलेको समयमा सजिलै किनबेच गर्न सकिन्छ।

त्यसैगरी, जोखिम लिन नचाहने लगानीकर्ताका लागि बैंकको मुद्दती खाता (एफडी) एउटा सुरक्षित विकल्प हो। यसले निश्चित र अनुमान गर्न सकिने प्रतिफल दिन्छ। तर, मुद्दती खाताको ब्याजदरभन्दा बजारको महँगी दर (इन्फ्लेसन) उच्च भयो भने लगानीकर्ताको क्रयशक्ति वास्तविक रूपमा घटिरहेको हुन्छ। सुरक्षित भए पनि यसमा सम्पत्ति वृद्धिको सम्भावना निकै सीमित हुन्छ। अर्कोतर्फ सेयर बजार जोखिमपूर्ण छ; यहाँ सन् २०२० मा झैं ७९ प्रतिशतको उछाल पनि आउन सक्छ र सन् २०२२ मा जस्तो झन्डै २० प्रतिशतको गिरावट पनि। त्यसैले, सेयर बजारको मूल्यांकन १-२ महिनाको उतारचढावबाट गर्नु प्राविधिक रूपमा गलत मानिन्छ।

बजारको यही अस्थिरता र कम्पनीहरुको आधारभूत विश्लेषण (जस्तै: ईपीएस, पीई रेसियो, नेटवर्थ) गर्न समय वा ज्ञान नहुनेहरुका लागि ‘म्युचुअल फन्ड’ (सामूहिक लगानी कोष) एउटा उत्कृष्ट विकल्पको रूपमा उदाएको छ। यसले थोरै पुँजीलाई पनि विभिन्न क्षेत्रमा विविधीकरण गरी जोखिम न्यूनीकरण गर्दै व्यावसायिक व्यवस्थापनको सुविधा दिन्छ।

अन्ततः लगानीको मुख्य नियम भनेको कुनै एक क्षेत्रको विगतको प्रतिफल हेरेर त्यतै मात्र हामफाल्नु होइन। सुनले १० वर्षमा राम्रो प्रतिफल दियो भन्दैमा सेयर वा एफडी सबै बेचेर सुन मात्र किन्नु वित्तीय साक्षरता होइन। लगानीकर्ताले आफ्नो आम्दानी, आपत्कालीन कोष, जोखिम बहन गर्ने क्षमता र भविष्यको लक्ष्यअनुसार लगानीको विविधीकरण (पोर्टफोलियो डाइभर्सिफिकेसन) गर्नुपर्छ। स्थायित्वका लागि केही रकम बैंकमा, मूल्य सञ्चय र विविधीकरणका लागि सुनमा, दीर्घकालीन स्थिर सम्पत्तिका लागि घरजग्गामा र व्यावसायिक वृद्धिबाट सम्पत्ति सिर्जना गर्न पुँजी बजारमा लगानी गर्नु सन्तुलित रणनीति हो। अरुले के गरिरहेका छन् वा सामाजिक सञ्जालमा कस्ता हल्ला छन् भन्ने आधारमा भन्दा पनि, आफ्नो वित्तीय योजनाअनुसार जोखिम व्यवस्थापन गरेर गरिने लगानीले मात्र दीर्घकालमा आर्थिक समृद्धि सुनिश्चित गर्न सक्छ।