वालेटबाट हुने भुक्तानीको सीमा बढ्यो, क्युआर कोर्डबाट दैनिक ३ लाख भुक्तानी गर्न पाइने
वि.सं.२०७९ माघ १८ बुधवार १०:००
shares

काठमाडौं, १७ माघ । वालेटबाट बैंक खातामा पठाउन रकमको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै वालेटबाट हुने भुक्तानीको सीमा बढाएको हो ।
वालेटबाट यस अघि दैनिक ५० हजार रुपैयाँ मात्रै भुक्तानी गर्न पाइने व्यवस्था रहेकोमा नयाँ निर्देशन अनुसार प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउने सकिने व्यवस्था गरिएको छ । त्यस्तै एक वालेटबाट अर्को वालेटमा पैसा पठाउँदा अब दैनिक ५० हजार रुपैयाँसम्म पठाउन पाइने भएको छ । यस अघि यस्तो माध्यमबाट पठाउने रकमको सीमा २५ हजार मात्रै रहेको थियो । दैनिक रुपमा पठाउन सकिने रकमको सीमालाई बढाएको भए पनि प्रतिमहिनाको कारोबार सीमा भने यथावत राखिएको छ ।
त्यस्तै मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा पनि बढाइएको छ । मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट प्रतिदिन ३ लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ । यसअघि प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको थियो ।
नयाँ निर्देशन अनुसार केन्द्रीय बैंकले सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस)मा आवद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत् सञ्चालन गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा लाग्ने शुल्कसम्बन्धी व्यवस्था पनि संशोधन भएको छ । यसअघि ३ हजार रुपैयाँसम्मको कारोबारमा ५ रुपैयाँ शुल्क लाग्ने गरेकामा अब सोही शुल्कमा ५ हजार रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ ।
त्यस्तै ५ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ शुल्क लाग्नेछ । यसअघि ३ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ८ रुपैयाँ शुल्क लाग्ने गरेको थियो । १० हजार १ रुपैयाँभन्दा माथिको सबै कारोबारमा २० रुपैयाँ शुल्क लाग्ने गरेकोमा त्यस्तो शुल्क घटाएर १० रुपैयाँ बनाइएको छ ।
त्यस्तै अन्तर बैक एटीएम सेवामा लाग्ने शुल्क पनि घटेको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क अब अधिकतम् १५ रूपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।
हालसम्म एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम मेसिनमा प्रयोग गर्दा बैंकहरुले यस्तो कारोबारको शुल्क २० रुपैयाँसम्म लिँदै आएका थिए । यसअघिसम्म मासिक २ वटा अन्तरबैंक एटीएम कारोबार निःशुल्क हुने व्यवस्थालाई भने नयाँ निर्देशनबाट हटाइएको छ ।



















