Dhulikhel Eco Banner new

राष्ट्र उत्थान लघुवित्तको नाफा घट्यो

4.67K
shares

काटठमाडौं, १ जेठ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा घटेको छ । लघुवित्तले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको भन्दा ३२.९६ प्रतिशतले नाफामा गिरावट आएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी घट्नु र इम्पेरमेन्ट चार्ज बढेकाले खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २.७८ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ४७.१५ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी १६ प्रतिशत घटेको छ । लघुवित्तको निष्क्रिय कर्जा १.१९ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ । यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ७१ लाख रुपैयाँ पुगेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै ३२.९६ प्रतिशत घटेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा घटेर १९ रुपैयाँ १० पैसामा झरेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ १४ पैसा रहेको छ ।