डलरको मूल्यमा नयाँ रेकर्ड, अर्थतन्त्रमा कस्तो पर्छ प्रभाव ?
वि.सं.२०७९ असार ३ शुक्रवार ०७:५३
shares

काठमाडौं, ३ असार । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ पछिल्ला दिनहरुको निकै कमजोर बन्दै गएको छ । शुक्रबार पनि अघिल्लो दिनको भन्दा नेपाली रुपैयाँ डलरका सामु अझ कमजोर बनेको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि जारी गरको बिनियमदर अनुसार एक अमेरिकी डलर बराबर नेपाली १२५ रुपैयाँ २२ पैसा पुगेको छ । बिहीबार १२५ रुपैयाँ २१ पैसा रहेको थियो । पछिल्लो समय दैनिक रुपमा डलरको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेको छ । हरेक दिन डलरले नयाँ रकेर्ड कामय गरिरहेको हो ।
रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको मूल्य उच्च गतिमा बढी रहेको जनाइएको छ । रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर बनेको र त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको हो । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । जसका कारण भारु कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने गरेको छ ।
अहिलेको अवस्थामा नेपालीले डलर साट्नु परेको खण्डमा एक डलर साट्नका लागि १२५ रुपैयाँ २२ पैसा खर्च गर्नु पर्ने भएको छ । डलरको भाउ महंगिदै जाँदा नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा महंगी झन बढ्ने अर्थविद्धहरु बताउँछन् । डलरको मूल्य बढ्दा निर्यातमुखी अर्थतन्त्र भएका देशहरुलाई मात्रै फाइदा पुग्ने अर्थविद डा. चन्द्रमणी अधिकारीले बताएका छन् ।
नेपालले तिर्नु पर्ने विदेशी ऋणको साँवा र ब्याज समेत डलरमा तिर्नु पर्ने भएकाले राज्यको खर्च बढ्न जान्छ । विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स केही बढी भित्रिए पनि अर्थतन्त्रमा नकारात्मक नै असर पर्ने अर्थविद्हरुको भनाइ छ ।
अधिकाशं सामान विदेशबाट भित्र्याउनु पर्ने भएकाले डलरको मूल्य बढ्दा त्यसको असर हरेका नेपालीको घरमा पर्ने देखिन्छ ।















