सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
वि.सं.२०८२ फागुन ९ शनिवार १०:२७
shares

काठमाडौं , ९ फागुन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म पोखरास्थित होटल पोखरा ग्रान्डमा दुई रात तीन दिनसम्म भव्य रूपमा आयोजना गरिएको थियो।
कार्यक्रममा कम्पनीका उत्कृष्ट कार्यसम्पादन गर्ने कुल ७० जना सिटिजन लिडरहरूलाई सम्मान गरिएको थियो। जसअन्तर्गत ६७ जना एमडीआरटी, २ जना कोर्ट अफ द टेबल ९सिओटी० तथा १ जना टप अफ द टेबल (टिओटी) क्वालिफायर रहेका थिए। कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन गरेका शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य उत्कृष्ट उपलब्धि हासिल गर्ने लिडरहरूलाई सम्मान गर्नुका साथै आगामी व्यवसायिक लक्ष्य, रणनीति तथा नेतृत्व विकाससम्बन्धी विषयमा छलफल र प्रभावकारी प्रशिक्षण प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ। कार्यक्रमअन्तर्गत “प्रगतिशील जीवनको रहस्य” विषयमा प्रख्यात बिक्री प्रशिक्षक तथा उत्प्रेरक वक्ता डा. रबिन कटवालले विशेष प्रशिक्षण सत्र सञ्चालन गर्नुभएको थियो। उक्त सत्रले सहभागीहरूलाई व्यक्तिगत तथा व्यवसायिक विकासतर्फ प्रेरित गरेको जनाइएको छ।
कार्यक्रममा कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठक, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल तथा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले आ–आफ्नो प्रस्तुति तथा मार्गदर्शन प्रदान गरेका थिए ।
यसैगरी कम्पनीका ब्राण्ड एम्बेसडर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले सहभागीहरूलाई सम्बोधन गर्दै हाँस्य–व्यंग्यमार्फत उत्साह प्रदान गर्नुका साथै एमडीआरटी क्वालिफायरहरूलाई सम्मान गरेका थिए ।
समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको मुख्य आधार सिटिजन लिडरहरूको समर्पण, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादन रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनहरूमा अझ उच्च उपलब्धि हासिल गर्ने विश्वास समेत व्यक्त गरे ।
कम्पनीका अनुसार एमडीआरटी २०२६ कार्यक्रम भव्य, प्रभावकारी तथा पूर्ण रूपमा सफल भएको छ। यस्ता कार्यक्रमहरूले लिडरहरूलाई थप उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवसाय विस्तार र व्यक्तिगत क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।

















