Dhulikhel Eco Banner new

सुगम घिमिरे बने सीएनआई युवा उद्यमी मञ्चका अध्यक्ष

533
shares

काठमाडौं, १७ साउन । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च को अध्यक्षमा सुगम घिमिरे चयन भएका छन्। शुक्रबार सम्पन्न मञ्चको आठौँ वार्षिक साधारण सभाले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्षको जिम्मेवारी मनिष श्रेष्ठले सम्हाल्ने भएका छन् भने लर्निङ चेयरमा चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयरमा शाइनी खेतान तथा स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयरमा निदा दून मल्ल चयन भएका छन्।

त्यस्तै, गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिलेसन्स चेयरमा सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयरमा पुनीत अग्रवाल, स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयरमा यश अग्रवाल तथा फाइनान्स एन्ड इन्टरनेसनल रिलेसन्स चेयरमा अङ्कुर अग्रवाल चयन भएका छन्।

सभाले को–चेयर पदमा पनि विभिन्न जिम्मेवारी तोकेको छ। मेम्बरसिप एन्ड इन्टिग्रेसन को–चेयरमा न्यान्सी अग्रवाल, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन को–चेयरमा सचेत मानन्धर र गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिलेसन्स को–चेयरमा चेतन प्रधान चयन भएका छन्।

वार्षिक साधारण सभाको अवसरमा मञ्चले वर्षभरि उत्कृष्ट योगदान दिने सदस्य तथा प्रादेशिक च्याप्टरहरूलाई समेत सम्मान गरेको छ। मोस्ट एक्टिभ मेम्बर अवार्डबाट जितेन्द्र बहाती र नेहा अग्रवाल सम्मानित भएका छन् भने आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड सुधिज्ञ पन्तलाई प्रदान गरिएको छ। त्यसैगरी, च्याप्टर ग्रोथ अवार्ड सीएनआईवाइईएफ लुम्बिनी च्याप्टर र च्याप्टर एक्सेलेन्स अवार्ड सीएनआईवाइईएफ कोशी च्याप्टरले प्राप्त गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा। पुकार मल्लले सरकारले उद्यमशीलता विकासका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। उनले युवा उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाउन सरकार सीएनआईवाइईएफसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष बीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकास र समृद्धिमा युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए।