Dhulikhel Eco Banner new

लघुवित्त क्षेत्र सुधारको संकेत, तर कर्जा असुलीमा अझै चुनौती : सीईओ श्रेष्ठ

897
shares

काठमाडौं, २३ असार । सहज लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बटुक शम्शेर श्रेष्ठले लघुवित्त क्षेत्र क्रमशः सुधारको दिशामा अघि बढिरहेको बताएका छन्।

केटिएम भ्वाइससँगको कुराकानीमा उनले समग्र वित्तीय सूचकहरूमा सकारात्मक सुधार देखिन थालेको उल्लेख गरे।

श्रेष्ठका अनुसार संस्थाको समग्र अवस्था सन्तोषजनक भए पनि बजारबाट कर्जा असुली गर्न अझै केही कठिनाइ रहेको छ। उनका अनुसार यो समस्या कुनै एक संस्थामा मात्र सीमित नभई समग्र लघुवित्त क्षेत्रमा देखिएको चुनौती हो।

यद्यपि, संस्थाले ग्राहकसँग नियमित संवाद, छलफल र सहमतिका आधारमा समस्या समाधान गर्दै कर्जा असुलीलाई सहज बनाउने प्रयास गरिरहेको उनले बताए।उनले हाल संस्थाको वित्तीय अवस्था स्थिर रहेको र खराब अवस्थाको सामना गर्नुपरेको नभएको स्पष्ट पारे।

तर, देशभर केही स्थानमा ऋणी समूहको असहयोग, बैठकमा सहभागी नहुने प्रवृत्ति तथा विभिन्न आन्दोलनको प्रभावले केही शाखामा चुनौती देखिएको उनको भनाइ छ।

सीईओ श्रेष्ठले नेपाल राष्ट्र बैंकले तयारी गरिरहेको आगामी मौद्रिक नीतिप्रति पनि अपेक्षा रहेको बताए। लघुवित्त संस्थाहरूको छाता संगठनमार्फत विभिन्न सुझावहरू राष्ट्र बैंकसम्म पुर्‍याइएको जानकारी दिँदै उनले नयाँ मौद्रिक नीतिले क्षेत्रका विद्यमान समस्या सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

उनका अनुसार संस्थाको अवस्था अहिले सुदृढ रहे पनि अपेक्षित गतिमा व्यवसाय विस्तार हुन सकेको छैन। तथापि, अधिकांश शाखामा नियमित कारोबार भइरहेको र सीमित स्थानमा मात्रै असहज अवस्था रहेको उनले बताए।

श्रेष्ठले ग्राहकको विश्वास कायम राख्दै सेवा प्रवाहलाई निरन्तरता दिने र वित्तीय अनुशासन कायम राख्दै संस्थालाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।