Dhulikhel Eco Banner new

विश्वासको वातावरण बनेपछि मात्रै लघुवित्तमा लगानी बढ्छ : लक्ष्मण पौडेल

884
shares

काठमाडौं, १६ असार । सम्पदा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण पौडेलले लघुवित्त क्षेत्रमा लगानी विस्तारका लागि सबैभन्दा पहिले वित्तीय प्रणालीप्रति विश्वासको वातावरण निर्माण हुनुपर्ने बताएका छन्।

केटिएम भ्वाइससंगको कुराकानीमा सिईओ लक्ष्मण पौडेलका अनुसार समग्र वित्तिय सुचकहरुमा पनि सकरात्मक सुधार देखिन थालेको छ । उनले बैंकिङ क्षेत्रमा देखिएको सुस्तता र बजारमा कर्जाको कमजोर मागका कारण लघुवित्त क्षेत्र पनि प्रभावित भएको  बताए।

पौडेलका अनुसार समग्र बैंकिङ प्रणालीमा देखिएको समस्याको असर लघुवित्त संस्थाहरूमा समेत परेको छ। बजारमा कर्जाको माग घटेको छ भने विगतमा लगानी गरिएका केही कर्जासमेत प्रभावित भएका छन्। कतिपय ग्राहक नियमित सम्पर्कमा नरहेकाले उनीहरूलाई पुनः सम्पर्कमा ल्याउने, आवश्यकताअनुसार ब्याज छुटलगायतका सुविधा दिएर नियमित भुक्तानीमा फर्काउने प्रयास भइरहेको उनले जानकारी दिए।

उनका अनुसार अहिले लघुवित्त संस्थाहरू नयाँ लगानी विस्तारभन्दा ऋण असुली तथा खराब कर्जा व्यवस्थापनमा केन्द्रित छन्। यसबाट अघिल्लो अवस्थाको तुलनामा केही सुधार देखिए पनि वित्तीय क्षेत्र अझै पूर्ण रूपमा सहज भइनसकेको उनको भनाइ छ।

पौडेलले माइक्रोफाइनान्सको मूल उद्देश्यबाट केही विचलन हुँदा क्षेत्रप्रति विश्वास कमजोर बनेको उल्लेख गरे। वित्तीय क्षेत्रमा विश्वासको वातावरण निर्माण हुन सके लगानीको माग स्वतः बढ्छ उनले भने, ‘अहिले अधिकांश लगानीकर्ता र व्यवसायी पर्ख र हेरको अवस्थामा छन ‘।

सरकारका आर्थिक नीति, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति तथा नियामकीय निर्देशनले वित्तीय क्षेत्रको आगामी दिशा निर्धारण गर्ने उनको विश्वास छ। नीति घोषणा मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले प्रभावकारी कार्यान्वयन र नीतिगत स्थिरताले मात्रै बजारमा सकारात्मक सन्देश जाने बताए।

लघुवित्तको उद्देश्य विपन्न, महिला, अशिक्षित तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय पहुँच उपलब्ध गराउनु भएको उल्लेख गर्दै पौडेलले वित्तीय साक्षरता अभिवृद्धि आवश्यक रहेको बताए। ग्राहकले लिएको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रयोग भएको सुनिश्चित गर्न प्रभावकारी अनुगमन पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।

ऋण लिएपछि दायित्व पूरा नगर्ने प्रवृत्ति बढेकाले वित्तीय क्षेत्रमा विश्वासको संकट देखिएको उल्लेख गर्दै उनले ग्राहक, वित्तीय संस्था र नियामक सबै पक्षले जिम्मेवारीपूर्वक काम गरे मात्रै लघुवित्त क्षेत्र दिगो रूपमा अघि बढ्ने बताए।