समस्याग्रस्त घोषणा हुँदै ७ लघुवित्त संस्था !
वि.सं.२०८३ असार १४ आइतवार १४:५५
shares

काठमाडौं, १४ असार । लघुवित्त वित्तीय संस्थाहरु संकटमा देखिएका छन् । अधिकांश संस्थाहरुमा व्यवस्थापनको मनपरीका कारण समस्या परेको केन्द्रीय बैंकले निश्कर्ष निकालेको हो ।
नेपाल राष्ट्र बैंक श्रोतबाट प्राप्त तथ्यांक अनुसार अहिले नै कम्तिमा ७ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्नुपर्ने देखिएको छ । ७ वटा बाहेक अरु १२ वटा संस्थाको अवस्था पनि निकै दयनिय अवस्थामा रहेका छन् ।
यी संस्थाहरु खासगरी प्रमुख कार्यकारी अधिकृत (सीईओ)को मनपरीका कारण समस्यामा देखिएका छन् । ‘समस्या एउटा वा दुई वटामात्रै भन्ने छैन, कतै सीईओको मनपरी छ कतै सञ्चालक समितिको हस्तक्षेप’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘अहिलेको समस्या साच्चिकै विकराल छ, केही सीईओहरुले संस्था डुबाउन लागेका छन् ।’
ती अधिकारीका अनुसार ७ वटा संस्थालाई तत्कालै समस्याग्रस्त घोषणा गर्नुपर्ने देखिएको छ । घोषणा गरेपछि आफैले सबैकुरा हेर्नु पर्ने भएकाले पनि राष्ट्र बैंकले अहिले निर्णय गर्न ढिलाइ गरिरहेको छ । ‘घोषणा गरेर पनि हामीलाई नै समस्या हुने हो, त्यसैले केही हतार गर्न हामी हच्किएका छौँ’ उनले भने ।
निस्कृय कर्जाले आकास चुम्न लागेको छ । संस्थागत सुशासनको पाटो पनि उत्तिकै विजोग अवस्थामा छ । राष्ट्र बैंकका ती अधिकारी भन्छन्, ‘जनउत्थान लघुवित्त, इन्फिनिटी लघुवित्त संस्थाहरुको त निस्कृय कर्जा अहिले नै २२ प्रतिशत हाराहारी छ, यहीँ वर्ष ३० पुग्ला कि भन्ने चिन्ता छ ।’
अहिले धेरै नै समस्यामा देखिएका ७ वटा र त्यहीँ लाइनमा देखिएक १२ वटा संस्थालाई एकै पटक समस्इाग्रस्त घोषणा गर्दा लघुवित्त इन्डष्ट्री नै संकटमा पर्छ । यसकारण पनि केन्द्रीय बैंकले ठोस निर्णय भने गर्न बाँकी रहेको बताएको छ । सात वटा संस्थाको नाम खुलाउन भने राष्ट्र बैंकले मानेको छैन ।



















