हिमालयन भाइकिङ नर्वे सातौँ ओएनएफ टी–१० क्रिकेट रनिङ शिल्डको विजेता
वि.सं.२०८३ साउन ११ सोमवार १६:१७
shares

काठमाडौं, ११ साउन । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको आयोजनामा सम्पन्न सातौँ संस्करणको मैत्रीपूर्ण ओएनएफ टी–१० क्रिकेट रनिङ शिल्ड प्रतियोगिता–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ।
जुलाई २५ र २६ तारिखमा नर्वेको राजधानी ओस्लोस्थित क्रिंग्सजो खेल मैदानमा आयोजना गरिएको दुईदिने प्रतियोगितामा आयोजक प्रवासी नेपाली एकता मञ्चसहित नेपाली जनसम्पर्क समिति, नेपाली पोर्चुगिज समाज, हिमालयन भाइकिङ, गैरआवासीय नेपाली संघ, प्रवासी नेपाली सम्पर्क विभाग र रागोस गरी सात टोलीको सहभागिता रहेको थियो।
प्रतियोगिताको अन्तिम खेल हिमालयन भाइकिङ नर्वे र रागोस नर्वेबीच रोमाञ्चक प्रतिस्पर्धाका साथ सम्पन्न भएको थियो। दस ओभरको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको रागोस नर्वेले निर्धारित दस ओभरमा २६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हिमालयन भाइकिङले उत्कृष्ट प्रदर्शन गर्दै एक विकेटको क्षतिमा आवश्यक २७ रन पूरा गरी प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाउन सफल भयो। रागोस नर्वे उपविजेतामा सीमित रह्यो।
व्यक्तिगत पुरस्कारतर्फ अमन अन्सारी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए भने विक्रम केसीले प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलरको उपाधि प्राप्त गरे। क्रिकेट प्रतियोगितासँगै महिला तथा बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो। महिला घैँटो फुटाउने प्रतियोगितामा लक्ष्मी पौडेल विजेता तथा रेनुका भण्डारी उपविजेता बन्न सफल भए। विजयी सहभागीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगिता सम्पन्न भएपछि आयोजना गरिएको पुरस्कार वितरण समारोहमा गैरआवासीय नेपाली संघ नर्वेका अध्यक्ष श्रद्धा सिंह थापा, उपाध्यक्ष देव श्रेष्ठ, महासचिव पशुपति प्रसाद भण्डारी, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य ईश्वरी प्रसाद खनाललगायत विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समारोहमा विजेता हिमालयन भाइकिङ र उपविजेता रागोस नर्वेलाई नगद पुरस्कार, ट्रफी, रनिङ शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिताको उद्घाटन नर्वेमा रहेका विभिन्न नेपाली संघ–संस्थाका अग्रज तथा अध्यक्षहरूले संयुक्त रूपमा गरेमा थिए। कार्यक्रमको सञ्चालन प्रतियोगिता संयोजक युवराज भण्डारीले गरेका थिए। प्रवासी नेपाली एकता मञ्च नर्वेका अध्यक्ष प्रकाश पौडेलले प्रतियोगिता सफल बनाउन आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, प्रायोजक, स्वयंसेवक तथा सहभागीहरूप्रति धन्यवाद व्यक्त गरे।
संयोजक युवराज भण्डारीले पनि खेलाडी, स्वयंसेवक तथा दर्शकहरूको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गरे। पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि श्रद्धा सिंह थापाले नेपाली समुदायबीचको एकता, सद्भाव र भाइचाराको सम्बन्ध अझ मजबुत बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए।
आयोजक प्रवासी नेपाली एकता मञ्च नर्वेले सहभागी तथा दर्शकहरूका लागि नेपाली परिकारसहित निःशुल्क भोजनको व्यवस्था गरेको थियो। प्रतिकूल मौसमका बाबजुद पनि पाँच सयभन्दा बढी नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रम बिहान १० बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन भएको थियो।















