Dhulikhel Eco Banner new

ग्यासको अनावश्यक जगेडा नगर्न उद्योगीको अपिल

390
shares

काडमाडौं, ११ साउन। नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। विगतका तुलनामा दैनिक करिब १०० बुलेट ग्यास आपूर्ति भइरहेको छ।

उनले भने, “पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यौँ, सोही परिमाणमा अहिले पनि आपूर्ति भइरहेको छ।” उनका अनुसार उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। उनले उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताए।

एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीले आफूहरूले छिट्टै पूरा भरिएको सिलिन्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले परेको बताए। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उनको भनाइ छ।

हाल बजारमा एक करोड ५० लाख थान सिलिन्डर छन्। जसमध्ये ५० लाख सिलिन्डर ग्यास डिपोसँग छन्। सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास वितरण सुरु गरेको थियो। हाल नेपालमा ५९ वटा एलपी ग्यास उद्योग छन्।