भारतमा बजार बिस्तार गर्दै केटीएम सिटी
वि.सं.२०७९ भदौ १२ आइतवार २१:४३
shares

काठमाडौं, १२ भदौ । शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले भारतमा बजार विस्तार गरेको छ । स्वदेशी लुगा उत्पादन गर्दै आएको केटीएम सिटीले भारतको सिलुगढीमा नयाँ आउटलेट खोलेको हो ।

भारतको सिलगुढीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलिएको नयाँ आउटलेट ५ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । यसअघि भारतको विभिन्न ६ स्थानमा आउटलेट सञ्चालन गरेर व्यवसाय गर्दै आएको केटीएम सिटीले सिलुगढीमा पनि सेवा विस्तार गरेको हो । चाँडै भारतको राजधानी नयाँ दिल्लीको ब्यापारिक महलमा समेत आफुलाई लैजाने केटीएम सिटीले जनाएको छ ।

नेपाली उत्पादन केटीएम सिटीले देशभर विभिन्न आउटलेट मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । काठमाडौं सहित पूर्वको धरान, पश्चिमको बुटवलसम्म केटीएम सिटीले आउटलेट सञ्चालन गरेर शुलभ मुल्यमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय लुगा उपलब्ध गराउँदै आएको छ । भारतीय बजारमा पनि गुणस्तरीय नेपाली ब्राण्डको लुगाले सफलता प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ ।
‘केटीएम सिटीले गुणस्तरीय लुगामा देशलाई आत्मनिर्भर मात्र बनाएको छैन । अन्तराष्ट्रिय बजारमा नेपाली ब्राण्डको रुपमा आफुलाई स्थापित समेत गर्न खोजिरहेको छ । भारतीय बजारमा केटीएम सिटीले राम्रो सफलता प्राप्त गर्ने विश्वास हामीले लिएका छौँ,’ केटीएम सिटीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
‘अब हामी नेपालमात्र हैन, अन्तर्राष्ट्रिय बजारमा नेपाली लुगाको सम्भावना र बजार खोजिरहेका छौँ । नेपाली ब्राण्डको लुगा निर्यात गरेर देशको अर्थतन्त्रमै टेवा पु¥याउने हिसाबले योजना बनाईरहेका छौँ,’ बिज्ञप्तिमा भनिएको छ ।
केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको आधिकारिक किट पार्टनर समेत हो । पछिल्लो समय खेलकुदमा आक्रमक रुपमा सेवा विस्तार गरिरहेको केटीएम सिटीले भलिबल, ब्याडमिन्टन, मार्सलआर्ट, टेबल टेनिस लगायत सम्पुर्ण खेलको पोशाक उत्पादन र वितरण गर्दै आएको छ ।

















