Dhulikhel Eco Banner new

‘साना उद्योग जोगाउन सके मात्रै औद्योगिकरणको जग बलियो’

7.71K
shares

काठमाडौं, १२ भदौ । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले मुलुकमा रहेका परम्परागत मौलिक उत्पादन गर्ने लघु, घरेलु तथा साना उद्योग जोगाउन सके मात्रै औद्योगिकरणको जग बलियो हुने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्रामीण क्षेत्रका परम्परागत र मौलिक साना तथा घरेलु उद्योग नै मुलुकको अर्थतन्त्रको जग भएको भन्दै यस्ता उद्योगको प्रवद्र्घनबाट मात्रै मुलुकको अर्थतन्त्र समृद्घ बन्ने बताएका हुन् ।

स्थानीय मौलिक उद्योगका उत्पादनलाई बढावा दिने र बढ्दो आयातलाई न्यूनीकरण गर्नुपर्ने अहिलेको राष्ट्रिय प्राथमिकताको विषय भएको भन्दै उनले गुणस्तरीय र प्रतिस्पर्धी उत्पादन कसरी गर्न सकिन्छ उद्योगी व्यवसायी तथा सरोकारवाला निकायहरुबाट अध्ययन आवश्यक रहेको बताए ।

साना उद्योगीका हरेक समस्यालाई बुझेर औद्यागिकरणमा लैजाने सरकारको प्राथमिकता भएको भन्दै मन्त्री महतोले भने– ‘साना तथा घरेलु उद्योग र उद्योगीको सम्मानबाट नै अर्थतन्त्र माथि उठ्छ । यसका लागि सरकार सहजीकरण र सहकार्य गर्न तयार छ ।’ महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले वि.सं. २०४७ सालदेखि नै साना तथा घरेलु उद्योगीहरुको लागि पैरवी गर्दै आएको बताउँदै स्वदेशी वस्तु उत्पादन र प्रयोग बढाउनु पर्ने बताएका छन् ।

नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच र वित्तीय पहुँच रहेको बताए । स्वदेशी वस्तुको प्रवद्र्घन र बजारीकरण गर्नका लागि मधेश प्रदेशमा निर्यातगृह र बिक्री कक्ष सञ्चालनमा ल्याउन पनि उनले मन्त्री महतोको ध्यानाकर्षण गराए ।

महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले घरघरमै उद्योग भएको मधेश प्रदेशमा लघु, घरेलु तथा साना उद्योगका साथै महिला उद्योग ग्राम पनि सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता भएको बताए । ‘त्यहाँ बजारीकरणको समस्या भएको व्यवसायीको गुनासो छ ।

भोलीका दिनमा व्यवसायमा पुस्ता हस्तान्तरण गर्न आवश्यक छ । कम्तिमा जिल्ला जिल्लामा बिक्री कक्ष राख्ने र औद्योगिक प्रदर्शनी आयोजना गर्ने विषयलाई मधेश प्रदेशले प्राथमिकता दिनुप¥यो,’ उनले भने । कार्यक्रममा महासंघका उपाध्यक्षहरु हरिहर थापा, नेत्र पाठक, मोहन कटुवाल, सत्यनारायण प्रजापति, शोभा गुरुङ तथा सदस्य विरेन्द्र जत्ती, महासंघको महिला उद्यमी समिति सचिव डा. सोनी महतोलगायतले पनि आफ्ना भनाई व्यक्त गरेका थिए ।