प्रिमियमदरमा खुल्यो घोराही सिमेन्टको आईपीओ
वि.सं.२०८० वैशाख १९ मंगलवार १३:००
shares

काठमाडौं, १९ वैशाख । घोराही सिमेन्ट कम्पनीले आईपीओ जारी गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा आईपीओ जारी गर्न स्वीकृति पाएसँगै आवेदन खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीको जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशतले हुने ७९ करोड ४३ लाख ८० हजार रुपैयाँ बराबरको ७९ लाख ७३ हजार ८०१ कित्ता साधारण शेयर निष्कासन गर्न स्वीकृति पाएको हो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित स्थानीयलाई ३०० रुपैयाँ प्रिमियम थप गरी ४०० रुपैयाँ प्रतिकित्तामा आईपीओ जारी गर्न स्वीकृति पाएको छ । कम्पनीले जारी पुँजीको १ प्रतिशतले हुने ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको छ । उक्त शेयरमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८, १९ तथा दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन खुला गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीहरुले ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले २ जेठसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि १७ जेठसम्म थप हुनेछ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने २ जेठभित्र आवेदन दिनु पर्नेछ ।
आईपीओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट र घोराही सिमेन्ट इण्डष्ट्रीबाट आवेदन दिन सक्नेछन् ।

















