Dhulikhel Eco Banner new

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपी र एनइबी दीक्षान्त समारोह सम्पन्न

5.23K
shares

काठमाडौं,  २५ जेठ । प्रिमियर इन्टरनेशनल स्कूलले विद्यालयअन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय स्नातक कार्यक्रम (आइबीडीपी) तथा राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) अन्तर्गत कक्षा १२ उत्तीर्ण गरेका ७३ जना विद्यार्थीलाई एक भव्य तथा सम्मानजनक दीक्षान्त समारोहमार्फत बिदाइ गरेको छ। तीमध्ये ३२ जना विद्यार्थी अन्तर्राष्ट्रिय स्नातक कार्यक्रमबाट र ४१ जना विद्यार्थी राष्ट्रिय पाठ्यक्रमबाट स्नातक भएका हुन्।

समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले विद्यालयको शिक्षात्मक गुणस्तरको प्रशंसा गर्दै भने, “ललितपुर शिक्षाको केन्द्र हो, र प्रिमियरजस्तो विद्यालयले यो पहिचानलाई अझ मजबुत बनाएको छ। प्रिमियर विद्यालय केवल ललितपुरकै नभई समग्र देशकै उदाहरणीय शिक्षालय हो।”

सो अवसरमा राष्ट्रिय पाठ्यक्रमबाट प्रबिग्य पुरुष ढकाल र अन्तर्राष्ट्रिय कार्यक्रमबाट आश्नी रुंगटालाई उत्कृष्ट छात्रको रूपमा (वालिडिक्टोरियन) सम्मान दिइयो भने अयुष्मा राजभण्डारी (राष्ट्रिय) र शुभम बजगाईं (अन्तर्राष्ट्रिय) लाई दोस्रो उत्कृष्ट छात्रको रूपमा (साल्युटेटोरियन) घोषणा समेत भएको छ । उनीहरूले आफ्ना अनुभव, आभार र भविष्यप्रतिको दृष्टिकोण मार्मिक ढंगले प्रस्तुत गरे।

कार्यक्रमको प्रारम्भ विद्यालयकी संस्थापक निर्देशक पवित्रा लिम्बूद्वारा दिइएको प्रेरणादायी स्वागत मन्तव्यबाट भएको थियो। उनले भनिन्, “हामीले ती नानीहरूलाई जिज्ञासु सिकाइ यात्राका रूपमा अभिभावकबाट लिएर साथ दिएका थियौं। आज ती नै बालबालिका जिम्मेवार, संवेदनशील र सक्षम युवा बनेर तपाईंहरूको काखमा फर्किरहेका छन्।”

समारोहमा शिक्षा तथा युवासम्बन्धी थुप्रै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। तिनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल, उच्च तथा माध्यमिक विद्यालय संघ नेपालका अध्यक्ष रमेश सिलवाल, शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, निजी तथा आवासीय विद्यालय संगठन नेपालका अध्यक्ष कृष्णप्रसाद अधिकारी, राष्ट्रिय निजी विद्यालय संगठन नेपालका अध्यक्ष सुवास न्यौपाने, निजी शैक्षिक संस्था संघ नेपालका अध्यक्ष लक्ष्मण केसी, राष्ट्रिय युवा महासंघ नेपालका अध्यक्ष क्षितिज थेबे, अष्ट्रेलियन शैक्षिक संस्था प्रतिनिधि संघ नेपालका अध्यक्ष द्विराज शर्मा, नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। साथै, राष्ट्रिय बास्केटबल टोलीका कप्तान तथा विद्यालयका प्रशिक्षक सदीश प्रधानको उपस्थिति विशेष उल्लेखनीय रहेको थियो।

शैक्षिक निर्देशक प्रविना थापाले समापन मन्तव्य दिँदै भने, “जहाँसम्म तपाईंहरूको शिक्षा र अवसरले तपाईंहरूलाई लैजाओस्, नेपाल तपाईंहरूको घर हो। एक दिन फर्किनुहोस् र तपाईंले पाएको ज्ञान, सीप र अनुभव आफ्नै देशको सेवामा लगाउनुहोस्।”

विद्यालयका राष्ट्रिय कार्यक्रम समन्वयक अच्युतप्रसाद लम्साल र अन्तर्राष्ट्रिय कार्यक्रम समन्वयक डा. अमित बडोलाले दीक्षित विद्यार्थीहरूलाई संयुक्त रूपमा बिदाइ गर्दै भने, “अब तपाईंहरूको परिचयपत्रमा ‘विद्यार्थी’ होइन, ‘पूर्व विद्यार्थी’ लेखिनेछ। तर यो विद्यालय सधैं तपाईंहरूको घर नै रहनेछ।”

प्रिमियर इन्टरनेशनल स्कूल नेपालको एकमात्र यस्तो विद्यालय हो जसले पूर्वप्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्मको सम्पूर्ण अन्तर्राष्ट्रिय पाठ्यक्रम (प्राथमिक वर्ष कार्यक्रम, माध्यमिक वर्ष कार्यक्रम, र अन्तर्राष्ट्रिय स्नातक कार्यक्रम) सञ्चालन गर्दछ। साथै, विद्यालयले राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको उच्च माध्यमिक तहको कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।