‘राइड टु सर्पोट’ अभियानमार्फत इन्ड्राइभद्वारा दुई विद्यालयलाई खेलकुद सामग्री र मैदान मर्मत सहयोग
वि.सं.२०८२ जेठ २५ आइतवार १८:०४
shares

काठमाडौं, २५ जेठ । विश्वव्यापी मोबिलिटी तथा शहरी सेवा प्रदान गर्ने प्लेटफर्म इन्ड्राइभले नेपालमा सञ्चालन गरिरहेको ‘राइड टु सर्पोट’ अभियान अन्तर्गत दुई विद्यालयलाई खेलकुद सामग्री वितरण गर्नुका साथै खेल मैदान मर्मतको सहयोग गरेको छ।
आइतवार काठमाडौंको ह्यात सेन्ट्रिक होटेलमा आयोजित विशेष कार्यक्रममा इन्ड्राइभले युनिक मोडल स्कुल र माइलस्टोन युथ इङ्गलिस स्कुललाई बास्केटबल, ब्याडमिन्टन, र फुटसल लगायतका खेलका सामग्रीहरू हस्तान्तरण गरेको हो। साथै विद्यालयहरूको खेल मैदान मर्मतका लागि पनि सहयोग उपलब्ध गराएको बताए ।
इन्ड्राइभले यस अभियान अन्तर्गत मे महिनाभरि नेपालभर संचालन गरिएका प्रत्येक तेस्रो राइडबाट संकलित भाडाको १० प्रतिशत रकम स्थानीय प्राथमिक विद्यालयहरूको खेलकुद संरचना सुधारमा खर्च गरिएको जानकारी दिए।
यस अभियानले विद्यालयमा अध्ययनरत बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
कार्यक्रममा युनिक मोडल स्कुलका प्रधानाध्यापक भक्त लामाले इन्ड्राइभले समाजप्रति देखाएको उत्तरदायित्व र योगदान प्रशंसनीय रहेको बताए।
उनले भने, “बालबालिकाको समग्र विकासका लागि इन्ड्राइभले देखाएको साथ र समर्थन उल्लेखनीय छ, यो अभियानलाई निरन्तरता दिन आवश्यक छ।”
इन्ड्राइभका प्रतिनिधिहरूले पनि अभियान भविष्यमा अझ व्यापक रूपमा विस्तार गर्दै थप विद्यालयहरूलाई समेट्ने योजना रहेको बताएका छन्।



















