साउन महिनामा पेट्रोल–डिजेलको आयात १५ अर्बको, खाना पकाउने ग्यासमा ५ अर्ब बाहिरियो
वि.सं.२०७९ भदौ ९ बिहीवार १०:२४
shares

काठमाडौं, ९ भदौ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पेट्रोल र डिजेलको आयातमा कमी आएको छ । साउन महिनामा डिजेलको आयात २८ हजार ९५४ किलोलिटर र पेट्रोलको आयात ३ हजार ८५२ किलोलिटरले घटेको हो ।
गत वर्षको साउन महिनामा ९४ हजार १०४ किलोटिर आयात भएको डिजेल चालू आर्थिक वर्षको साउन महिनामा ६५ हजार १८६ किलोलिटर मात्रै आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । त्यस्तै पेट्रोल गत वर्षको साउन महिनामा ५८ हजार ५५६ किलोटिर आयात भएको थियो भने चालू आर्थिक वर्षको पहिलो महिनामा ५४ हजार ७०४ किलोटिलर आयात भएको छ ।
इन्धनमा आएको आयत गिरावटले आयातमा कमी आएको अनुमान गरिएको छ । पछिल्लो समय विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग तथा पेट्रोल र डिजेलले चल्ने वाहनको आयातमा लगाइएको प्रतिबन्धले पनि पेट्रोल डिजेलको आयातमा कमी आएको अनुमान छ । पेट्रोल र डिजेलको आयातमा कमी आए पनि सो वस्तुको आयातका लागि हुने खर्च भने बढेको छ ।
यी दुई वस्तुको मूल्यवृद्धि भएका कारण आयात कम भए पनि रकम भने गत वर्षको तुलनामा बढी बाहिरिएको छ । गत वर्षको साउन महिनामा ६ अर्ब ६४ करोड रुपैयाँ डिजेल आयात भएको थियो । चालू आर्थिक वर्षको साउन महिनामा परिणाम घटे पनि त्यसका लागि ८ अर्ब ९८ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
त्यस्तै गत वर्षको साउन महिनामा ४ अर्ब ४१ करोडको पेट्रोल आयात भएको थियो भने चालू आर्थिक वर्षको पहिलो महिनामा ६ अर्ब ३८ करोड रुपैयाँको आयात गरिएको छ । यसरी हेर्दा चालू आवको साउन महिनामा गत वर्षकोभन्दा १५ अर्ब ३६ कराड बढीको पेट्रोल र डिजेल आयात भएको छ ।
पेट्रोल र डिजेलको खपत घटे पनि खाना पकाउने ग्यासको खपत भने गत वर्षको साउनको तुलनामा बढेको भन्सार विभागले सार्वजनिक गरेको चालू आवको पहिलो महीनाको आयात–निर्यातसम्बन्धी तथ्यांकले देखाएको छ । गत वर्षको साउनमा ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको ३ करोड ७९ लाख ८२ हजार किलो खाना पकाउने ग्यास आयात भएकोमा चालू आर्थिक वर्षको साउनमा ५ अर्ब २७ करोड रुपैयाँभन्दा बढी मूल्यको ४ करोड १४ लाख ८७ हजार किलो ग्यास आयात भएको छ ।















