Dhulikhel Eco Banner new

नियम उल्लंघनमा एटीएल प्रोडक्सन हाउस र बालकुमारी प्लास्टिक उद्योगमाथि जरिवाना

3.89K
shares

काठमाडौं २६ पुस । सरकारले तोकेको मापदण्ड विपरीत प्लास्टिकजन्य सामग्री उत्पादन तथा बिक्री गर्ने दुई उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । शुक्रबार गरिएको बजार अनुगमन क्रममा नियम उल्लंघन गरेको भेटिएपछि ती उद्योगलाई जरिवाना तिराइएको हो। विभागले ललितपुरको बालकुमारी प्लास्टिक उद्योगलाई ५० हजार रुपैयाँ र चन्द्रागिरिस्थित एटीएल प्रोडक्सन हाउसलाई ५१ हजार रुपैयाँ जरिबाना गरेको हो ।

जरिवाना गरिएका उद्योग बाहेक विभागले काठमाडौं उपत्यकाभित्रका अन्य ८ व्यावसायिक फर्मलाई पनि सचेत गराएको छ । ती फर्मलाई ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । साथै, अन्य दुई फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ । सरकारले वातावरण प्रदूषण कम गर्न ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला उत्पादन, आयात र बिक्री वितरणमा पूर्णरोक लगाएको छ। विभागले नियमित बजार अनुगमन क्रममा यो नियमको पालना नभएको पाइए कानुन बमोजिम जरिबाना तथा कारबाही गरिने स्पष्ट पारेको छ।