घोषणाको आठ वर्ष बित्दा पनि गण्डकीका दुई ठूला औद्योगिक क्षेत्र अलपत्र
वि.सं.२०८२ पुस २६ शनिवार १४:२६
shares

काठमाडौं २६ पुस । गण्डकी प्रदेश सरकारले गौरवका आयोजनाका रूपमा अघि सारेका दुई ठूला औद्योगिक क्षेत्र निर्माण कार्य घोषणा भएको आठ वर्ष बितिसक्दा पनि सुरु हुन सकेको छैन। कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने भनिएका औद्योगिक क्षेत्रको जग्गा भोगाधिकार नपाउँदा निर्माण प्रक्रिया अनिश्चित बनेको हो। प्रदेश सरकार र सङ्घीय सरकारबीच जग्गा प्राप्तिको प्रक्रिया लम्बिएका कारण यी महत्वपूर्ण आयोजनाहरू कागजमै सीमित भएका छन्।
प्रदेश सरकारका अनुसार पुँडीटारमा रुख गणना र टाँचा लगाउने काम भइरहेको छ भने लोकाहाखोलाको प्रतिवेदन वन तथा भू–संरक्षण विभागमा पुगिसकेको छ। तर सङ्घीय मन्त्रिपरिषद्बाट जग्गा भोगाधिकारको निर्णय नआएसम्म भौतिक संरचना निर्माण अघि बढ्न नसकिने बताइएको छ। लोकाहाखोला चुरे संरक्षण क्षेत्रभित्र पर्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रियामा ढिलाइ भएको छ।
प्रदेश सरकारले पुँडीटारका लागि ५४ करोड र लोकाहाखोलाका लागि ७६ करोड रुपैयाँको डीपीआर तयार गरिसकेको भए पनि जग्गा अभावले लगानी उपयोगविहीन बनेको छ। निजी क्षेत्रले भने लामो प्रतीक्षाका कारण लगानीकर्तामा निराशा बढ्दै गएको जनाएको छ।















