चार महिनामा जीवन बीमा कम्पनीको व्यवसाय ४६ अर्ब बढी
वि.सं.२०७९ मंसिर २१ बुधवार १७:२६
shares

काठमाडौं, २१ मंसिर । चालु आर्थिक वर्षको ४ महिनामा जीवन बीमा कम्पनीहरुले ४६ अर्बभन्दा बढीको व्यवसाय गरेका छन् । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोडको व्यवसाय गरेका हुन् ।
जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सुरुका चार महिनामा ४८ अर्ब ३२ करोड रुपैयाँको व्यवसाय गरेका थिए । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा जीवन बीमा कम्पनीले बीमा संकलनमा ४.७९ प्रतिशतले कमि आएको छ ।
चालु आवको कात्तिक महिनासम्म कम्पनीहरुले प्रथम बीमाशुल्कबाट ९ अर्ब ११ करोड ७२ लाख रुपैयाँ र नवीकरण बीमाशुल्कबाट ३६ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ उक्त रकम संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । कात्तिक मसान्तसम्मा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ३९ लाख ४२ हजार ३०९ वटा रहेको छ ।
गत आवको कात्तिक मसान्तसम्ममा कम्पनीहरुले प्रथम बीमाशुल्क वापत १२ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ र नवीकरण बीमाशुल्कवापत ३५ अर्ब ७ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । उक्त अवधिमा ९५ लाख ७ हजार ४२१ वटा बीमालेख जारी भएका थिए ।
चालु आर्थिक वर्षको चार महिनामा ८ वटा कम्पनीको व्यवसायमा गिरावट आएको छ । प्राधिकरणको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा युनियन लाइफ, मेट लाइफ, प्राइम लाइफ, प्रभु लाइफ, रिलायवल नेपाल, गुराँस लाइफ, एलआईसी नेपाल र राष्ट्रिय बीमा संस्थानको व्यवसाय घटेको हो ।
व्यवसाय घट्का कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क सबै भन्दा धेरै ६९.०५ प्रतिशतले घटेको छ । चार महिनामा संस्थानको व्यवसाय १ अर्ब ४८ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । संस्थानले गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
त्यस्तै गत आर्थिक वर्षको समीक्षा अवधिमा गुराँस लाइफको व्यवसाय १३.८० प्रतिशत, एलआईसी नेपालको १२.४७ प्रतिशत, रिलायबल नेपालको १२.३४ प्रतिशत, प्रभु लाइफको ५.५२ प्रतिशत, मेट लाइफको ४.५५ प्रतिशत, प्राइम लाइफको २.८१ प्रतिशत र युनियन लाइफको २.३९ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा बसैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले चार महिनाको अवधिमा १२ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपाल लाइफले १२ अर्ब ५५ करोड रुपैयाँको व्यवसाय गरेको थियो ।
नेपाल लाइफसँगै ११ वटा कम्पनीले व्यवसाय बढाएका छन् । गत आवको यसै अवधिको तुलनामा नेशनल लाइफको व्यवसाय २०.९२ प्रतिशतले बढेको छ । महालक्ष्मी लाइफको व्यवसाय १८.९२ प्रतिशत, आईएमई लाइफको १४.३२ प्रतिशत, ज्योति लाइफको १३.६७ प्रतिशतले बढेको छ ।
त्यस्तै सूर्या लाइफको १२.६१ प्रतिशत, सिटिजन लाइफको १०.३९ प्रतिशतले बढेको छ । यस्तै, सन नेपाल लाइफ, एशियन लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफको व्यवसाय भने १० प्रतिशतभन्दा कमले बढेको छ ।



















