Dhulikhel Eco Banner new

शाखा कार्यालयबाटै बीमा दाबी भुक्तानी गर्ने व्यवस्था हुन्छ : अध्यक्ष सिलवाल

6.98K
shares

काठमाडौं, १० फागुन । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको शाखाताट नै बीमा दाबी भुक्तानी गर्ने व्यवस्था गर्ने विषयमा पहल भइरहेको बताएका छन् । बुधबार नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

त्यहाँका उद्योगी व्यवसायीसँग भएको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले छिटोछरितो रुपमा बीमा दाबी भुक्तानी गर्नका लागि बीमा कम्पनीलाई निर्देशन दिएको बताए । छिटोछरितो रुपमा भुक्तानी दिनका लागि शाखा कार्यालयबाट नै सेवा प्रदान गर्नु पर्ने उनको भनाइ छ ।

अध्यक्ष सिलवालले दुर्घटना बीमाको बीमाकं बृद्धिका सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिए । साथै बीमा सचेतनाका लागि प्राधिकरणले प्रदेश र स्थानीय सरकारसँग निरन्तर रुपमा अन्तरत्रिया कार्यक्रम गर्दै आएको अध्यक्ष सिलवालको भनाइ छ ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले बीमकले बीमितलाई नभई बीमितले बीमक खोज्ने परिस्थिति सिर्जना गर्नका लागि बीमा कम्पनीहरु समेत अग्रसर हुनुपर्ने बताए । काठको बीमाका सम्बन्धमा नीतिगत व्यवस्था गर्नुपर्ने, दुर्घटना बीमाको बीमाशुल्क बढाएर मानवीय क्षतिको विद्यमान बीमांक वृद्धि गर्नुपर्ने व्यवसायीहरुको भनाइ थियो ।