डिप्रोक्स लघुवित्तको नाफा ३६.३५ प्रतिशतले घट्यो
वि.सं.२०८० वैशाख २६ मंगलवार १०:३९
shares

काठमाडौं, २६ वैशाख । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा भारी गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ३६.३५ प्रतिशतले नाफा घटेको हो ।
लघुवित्तले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.८५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.६२ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ६.७० प्रतिशत र सञ्चालन मुनाफा ३६.३६ प्रतिशत घटेको छ । लघुवित्तको निष्क्रिय कर्जा ०.५९ प्रतिशतबाट बढेर ४.४९ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ९ करोड ४९ लाख रुपैयाँ पुगेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै घटेको हो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १७ रुपैयाँ ६६ पैसा घटेर २४ रुपैयाँ २५ पैसामा झरेको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.२५ गुणा रहेको छ ।



















