Dhulikhel Eco Banner new

जीवन बीमा कम्पनीको नयाँ व्यवसायमा २७ प्रतिशतको गिरावट

4.68K
shares

काठमाडौं, २६ वैशाख । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा गिरावट आएको छ । सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको चैत मसान्तसम्म नयाँ व्यवसायमा २७.५९ प्रतिशतले गिरावट आएको हो ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले २१ अर्ब ५२ करोड रुपैयाँको नयाँ बीमा शुल्क संकलन गरेका छन् । यो कुल जीवन बीमा शुल्कको २०.०६ प्रतिशत मात्रै हो । चालू आर्थिक वर्षमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ अर्ब ५४ लाख रुपैयाँले कमी आएको हो । गत आर्थिक वर्षमो चैत मसान्तसम्म बीमा कम्पनीहरुले २९ अर्ब १ करोड रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका थिए ।

जीवन बिमा कम्पनीहरुमध्ये प्रथम बिमाशुल्कवापत नेपाल लाइफले सबैभन्दा धेरै रकम संकलन गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४ अर्ब ६ करोड १६ लाख रुपैयाँ संकलन गरेको छ । यो अवधिमा सबैभन्दा कम बीमा शूल्क महालक्ष्मी लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । महालक्ष्मी लाइफले यो अवधिमा ३३ करोड ७५ लाख रुपैयाँ संकलन गरेको छ ।

धेरै बीमा शूल्क संकलन गर्ने कम्पनीको दोस्रो स्थानमा नेशनल लाइफ इन्योरेन्स रहेको छ । नशनलले चैत मसान्तसम्म २ अर्ब ६२ करोड १३ लाख रुपैयाँ संकलन गरेको छ । यस्तै, एलआइसीले प्रथम बिमाशुल्कवापत १ अर्ब ६५ करोड २५ लाख, सूर्यज्योति लाइफले १ अर्ब ८ करोड ३७ लाख, सन नेपाल लाइफले १ अर्ब ३१ करोड ७३ लाख, एशियन लाइफले १ अर्ब ४ करोड ९० लाख, र सिटिजन लाइफले १ अर्ब ३ करोड ६ लाख र सानिमा रिलायन्सले १ अर्ब ११ करोड ५८ लाख रुपैयाँ संकलन गरेका छन् ।

यस अवधिमा आइएमई लाइफले ९५ करोड ९८ लाख, मेट लाइफले ९० करोड, राष्ट्रिय बीमा संस्थानले ४७ करोड ७ लाख, यूनियन लाइफले ९१ करोड ५६ लाख, प्रभु लाइफले ४६ करोड ४७ लाख रुपैयाँ संकलन गरेका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा जीवन बीमा व्यवसाय गर्दैै आएका १८ वटै जीवन बिमा कम्पनीहरुको प्रथम बीमाशुल्क घटेको छ । १८ मध्ये सबैभन्दा धेरै प्रथम बीमाशुल्क गुराँस लाइफको घटेको छ । गत आवको फागुन महिनासम्मको तुलनामा इन्स्योरेन्सको प्रथम बीमाशुल्क संकलन ४६.०६ प्रतिशत घटेर २७ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले ५० करोड २६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो । यस्तै, सबैभन्दा थोरै आइएमई लाइफको २.१४ प्रतिशतले घटेको छ ।

राष्ट्रिय बीमा संस्थानको नयाँ व्यवसाय ३७ प्रतिशत, ३९.२५ प्रतिशत र सानिमा रिलायन्सको ३५.६४ प्रतिशतले घटेको छ । यस्तै, नेशनल लाइफको प्रथम बीमाशुल्क १८.४८ प्रतिशत, नेपाल लाइफको १६.०७ प्रतिशत, एलआइसी नेपालको १४.८३ प्रतिशत, मेट लाइफको २०.३३ प्रतिशत, एशियन लाइफको ३१.०५ प्रतिशत, यूनियन लाइफको ४७.०१ प्रतिशत, सन नेपाल लाइफको २९.३९ प्रतिशत, सिटिजन लाइफको ३७.१० प्रतिशत, प्रभु लाइफको ३८.७३ प्रतिशत र सूर्यज्योतिको २९.४४ प्रतिशतले घटेको छ ।

कुल बीमा व्यवसायमा नवीकरण बीमा शूल्कको योगदान धेरै रहेको छ । जम्मा बीमा शूल्कको करिब ८० प्रतिशत हिस्सा शूल्क नविकण शूल्कको रहेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७९.९४ प्रशितश हिस्सा नवीकरण शूल्कले ओगटेको छ । चैत मसान्तसम्म कम्पनीहरुले नवीकरण शूल्क बापत ८३ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ संकलन गरेका छन् ।