GBIME

‘उत्पादन वृद्धि गरेर स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्छ, आयात गरेको वस्तु बेचेर अर्थतन्त्र धानिदैन’

1.76K
shares

काठमाडौं, १० पुस । अहिले देशभर उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । निजी क्षेत्रमा भएका समस्याहरु छलफलबाट समाधान नभएपछि विकल्प रोजेको व्यवसायीहरुको भनाइ छ । यस्तो अवस्थामा सरकारले गर्नुपर्ने काम कारबाही र नीति नियम नभएपछि व्यवसायीहरु आन्दोनलमा होमिएका हुन् । बैंकहरुले बढाएको व्याजदरका कारण त व्यवसायीहरु सडक मै आउनु पर्ने अवस्था आएको छ । यहि कारण केही व्यवसायीहरुले आत्महत्या समेत गरिसकेका छन् । बजारमा देखिएको तरतलताको अभाव र व्यवसाय चलायमान नभएका कारण यस्तो समस्या आएको व्यवसायीहरुको गुनासो छ । पछिल्लो समय व्यवसायीका समस्या र गुनाका विषयमा मौफसलका व्यवसायीहरुको धारणा के छ त ? यसै पेरिफेरिमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष भीम बहादुर पौडेलसँग केटिएम भ्वाइसकर्मी युकला पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

अहिले उद्योग व्यवसायको अवस्था कस्तो छ ?
अहिले उद्योग व्यवसायका्े अवस्था त नाजुक नै रहेको छ । व्यवसायीहरुलाई हित हुने खालकोकाम हुन सकेको छैन । व्यवसायीहरु कसरी अगाडि बढ्ने भन्ने कुरामा चिन्तित रहेका छन् । चल्दै गरेका व्यवसायले पनि राम्रो व्यापार गर्न सकेका छैनन् ।

पहिलेभन्दा केही मात्रामा त सुधार भएको छ । तर बाहिरी मिडियामा सुधार भईरहेको सुनिन्छ, देखिन्छ तर व्यवहारमा भने परिवर्तनको कुनै पनि महसुस गर्न पाइएको छैन् ।

सरकारले मौद्रिक नीतिको समिक्षा गर्यो, अहिले आयात खुल्ला पनि गरेको छ यसले कस्तो प्रभाव पार्ला ?

यस्तो अवस्थामा केही मात्रामा प्रभाव त पर्ला तर व्यवसायलाई चलायमान बनाउने सम्भावना भने देखिदैन । आयातले केही मात्रामा सहज बनाउला तर सबै क्षेत्रमा भएको आर्थिक मन्दीका कारण आयातमा नै समस्या हुन्छ । यसले गर्दा खास यसले कुनै प्रभाव पार्दैन । हाम्रो प्रमुख समस्या भनेको तरलता नै हो । यसको समाधान नभएसम्म जस्तो सुकै निर्णय गरे पनि व्यवसायीलाई प्रभाव पर्दैन ।

सरकारले ल्याएका नीतिहरु पनि ठिकै छन् त्यसलाई नराम्रो भन्न त मिल्दैन । तर अहिलेको जस्तै अवस्था आयो भने भविष्यमा असर गर्छ कि भन्ने हो । अहिले भएको तरलताको समस्या पछि नहोस् भन्ने सरकारको नीतिलाई पनि गलत भन्न मिल्दैन ।

कोभिडले पारेको समस्या र त्यसबाट लगत्तै आएको तरलताको समस्याले गर्दा निजी व्यवसायमा ह्रास आएको हो अहिले पनि व्यवसाय त्यो भन्दा माथि उठ्न सकेको अवस्था छैन । अहिले व्यवसाय २५ प्रतिशत मात्र चलायमान भएको अवस्था हो । यसले कालान्तरमा त राज्यलाई नै समस्या पार्ने हो नि । निजी क्षेत्र कमजोर बन्दा राज्य बलियो हुन्छ र ? बैंकहरुले बढाएको ब्याजदरका कारण व्यवसायीमा परेका समस्यालाई भने सरकारले बेवास्ता नै गरेको हो ।

व्यवसायीका समस्या समाधान गरेर निजी क्षेत्रका समस्यालाई समाधान गर्नका लागि राज्यले ध्यान दिनु पर्ने आजको आवश्यकता हो । अनि आयातलाई त अझै ५ वर्ष बन्द गरेपनि हुन्छ किनकि अनाश्यक सामानहरुको आयात अत्याधिक नै भयो । यसले देशको अर्थतन्त्रमा नकारात्मक असर नै गरेको छ । विलासिताका सामानहरुले गर्दा समस्याहरु देखिन थालेका छन् ।

एउटा घरमा मान्छे ४ जना तर सवारीसाधन ५ वटा छन् । यो त पट्टकै पनि आवश्यकता होइन । यसले गर्दा नेपालबाट रकम बारिह जाने मात्रै काम भएको छ । अर्को तर्फ मोबाइलमा लगाएको प्रतिबन्धलाई सधैभरि बन्द गरौँ ५० हजारको फोनले काम चालाउँदा हुँदैन र ? के ५० हजारको मोबाइलले कुरा गर्दा फोन बुझिदैन र ? यस्ता कुराहरुलाई सधैभरिलाई बन्द गर्दा हुन्छ ।

अब सरकारले कस्तो नीति ल्यायो भने निजी क्षेत्रलाई सहज हुन्छ ?

अब सरकारले तल्लो स्तरबाट काम गर्नुपर्छ । सबैभन्दा पहिले कृषकका समस्याहरु समाधान गर्न तर्फ लाग्नु पर्छ । नेपाल कृषि प्रधान देश हो । त्यसकारण कृषिमा नै बढी जोड दिनु पर्ने हुन्छ । आयात गरेको वस्तु बिक्री गरेर मात्रै देशको अर्थतन्त्र चल्न सक्दैन तसर्थ उत्पादन मूलक क्षेत्रमा सरकारले ध्यान दिनु पर्ने देखिन्छ ।

अनि साना व्यवसायीका समस्याहरुलाई समाधानको बाटोमा ल्याउनु पर्यो । कृषकहरुलाई जागरुक नगरीकन अब नेपालको आर्थिक स्तर सुधार्न सक्ने अवस्था देखिदैन । उनीहरुलाई मल, बीउ बिजन समयमै उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्यो । नेपालको धेरै जसो खेतबारी बाँझै रहेको अवस्था छ । त्यसमा कृषि गर्नेका लागि सहज हुने वातावरण निर्माणमा राज्यको ध्यान जान जरुरी देखिन्छ ।

नेपालमा रोजगारीको पनि समस्या रहेको छ । दैनिक रुपमा हाम्रा देशका युवाहरु झोला बोकेर अर्काको देशमा काम गर्नका लागि पलायन हुनुपर्ने बाध्यता रहेको छ । सरकारले व्यक्ति निर्यात भन्दा पनि वस्तु निर्यात गर्नेतर्फ सोच्नु पर्ने आवश्यकता छ । कृषकहरुलाई प्रोत्साहन गर्ने खालको निति नियमहरु सिर्जना गर्यो भने धेरै युवाहरु कृषितर्फ आकर्षित हुने थिए । जसले देशमा उत्पादन बढ्ने र रोजगारी पनि सिर्जना हुने देखिन्छ ।

देशमै उत्पादन भएको वस्तुले धान्ने अवस्था निर्माण गर्न सकियो भने आयातलाई प्रतिस्थाापन गर्न सकिन्छ । जुन सरकारको लक्ष्य पनि हो । ठुला व्यवसायीहरु त जसरी पनि अगाडि गइहाल्छन् । जो अगाडि बढ्न सकेको छैन त्यसतर्फ राज्यले ध्यान दिनुपर्यो । कृषकहरुले उत्पादन गरेको सामाग्रीहरु वर्षभरि राखेर उपभोग गर्न मिल्ने व्यवस्था गर्नुपर्यो । हरेक ठाँउमा कोल्ड स्टोरहरुको निर्माण गर्नुपर्यो । त्यसो गर्दा हामीले अरु देशबाट ल्याएको सामानमा निर्भर हुन पदैन ।

जस्तै अकबरे खुर्सानी सिजनमा ४०० रुपैयाँमा पाइन्छ तर अरु समयमा त्यही खुर्सानी चाइनाबाट ल्याएर माग धान्नु पर्ने बाध्यता रहेको छ । अनि त्यो खुर्सानी १ हजार २०० तिरेर किन्नु पर्ने बाध्यता छ । तसर्थ हाम्रो उत्पादन सञ्चित गरेर अफ सिजनमा प्रयोग गर्न सक्ने व्यवस्था गरियो भने त विदेश जाने पैसा यहि रहन्छ नि ।

अब राष्ट्र बैंक वा सरकारले कस्ता नीति ल्याउनुपर्छ ?

अहिले राष्ट्र बैंकले ल्याएको नीति एकदम ठीक रहेको छ । यहाँ नियम के छ भने माथिल्लो स्तरमा भएका मान्छेहरुले मात्र ६७ प्रतिशत राज्यको ढुकुटी प्रयोग गरेका छन् । जम्मा ११० जनाले प्रयोग गरेको पैसा देशभरिका व्यवसायीलाई लगानी गर्ने हो भने केही गर्नै पर्दैन । एउटा मान्छले घर पनि किनेको छ, जग्गा पनि किनेको छ, अस्पतालमा पनि लगानी गरेको छ । सबै क्षेत्रमा उनीहरुको मात्र पहुँच रहेको छ ।

अनि भएको लागनी उनीहरुकै छ । जता पनि उनीहरु मात्र भएपछि अरु तल्लो स्तरमा हुने व्यक्तिहरुले चै के गर्ने ? अहिले त्यो नियमले साना तथा मझौला व्यवसायीलाई असर पर्यो होला तर भोलि त्यो तीतिले सम्पूर्ण क्षेत्रको समान रुपमा विकास हुन्छ भन्ने पनि त बुझ्नुपर्यो । अनि के प्रयोजनका लागि लगेको हो, त्यही कामका लागि प्रयोग भएको छ की छैन भन्ने निगरानी गर्नपर्यो । नेपालमै उत्पादन भएका सामानहरुको प्रयोग गर्नुपर्यो सम्भावना देखिएका सामानहरुको उत्पादन बढाउनुपर्यो निर्यातलाई बढाउनुपर्यो । आयातलाई प्रतिस्थापन गर्नुपर्यो ।

अब एफएनसीसीआईको बारेमा कुरा गरौ, अबको नेतृत्व कस्तो आउनुपर्छ ?

अहिलेसम्मको नेतृत्वमा जो आएपनि आफ्नो मात्रै काम गरिरहेको छ । म प्रदेशको उपाध्यक्ष मेरो पनि जिम्मेवारी हो सही नेतृत्वलाई अगाडि बढाउने तर हामीले जति नै राम्रो नेतृत्व पठाएपनि त्यसले माथिल्लो तहमा पुगेपछि आफ्नो दुनो सोझ्याउने मात्रै काम गरिरहेको छ ।

हामीले प्रदेशमा आन्दोलन गर्यौ त्यती बेला चिठी पठायो आन्दोलन रोक्नुहोस हामी समस्या समाधान गर्छौ भनेर तर अहिलेसम्म केही गरेको छैन । यसले समग्र देशका व्यवसायीको समस्या बुझ्न चाहेकै छैन । तल्लो स्तरमा रहेका उद्योगी व्यवसायीहरुको मुख्य समस्यालाई ध्यान दिएकै छैन ।

अबको कार्यकालका लागि स्वत चन्द्र ढकाल अध्यक्ष हुदै हुनुहुन्छ । उपाध्यक्षमा राम्रो मान्छे पठाउने हाम्रो दायित्व हो । अनि अर्को कुरा यो नेतृत्वले आफै नीति नियम बनाउने होइन । उसले पनि सरकासंग समन्वय गर्ने हो । व्यवसायीका कुरा नै नबुझ्ने सरकार भएर पनि आज देशमा यस्तो हाहाकार भएको हो । जबसम्म सरकारमा व्यवसायीहरु पुग्दैनन् तबसम्म यो समस्याहरु समाधान होला जस्तो लाग्दैन ।

कस्तो व्यक्तिलाई जिम्मेवारीमा पठाउने भन्ने जिम्मेवारी तपाइहरु कै होइन र ?

जिम्मेवारी त हाम्रै हो तर एकजनाले मात्र गर्दा नहुने भएर हो । धेरै मान्छे धेरै विचार अनि कसले भन्छ भन्ने कुरामा भर परेर बसेको अवस्था हो । अनि हामी पनि कस्ता छौँ भने जसले अलि लोभ देखाउछ त्यतैतिर लाग्छौँ । त्यसले गर्दा समस्या भएको हो । अब जो नेतृत्वमा गएपनि राम्रो काम गरोस भन्ने आश राखेका छौँ ।