GBIME

‘शेयर बजार मैत्री अर्थमन्त्री आउँदा लगानीकर्तामा उत्साह देखिएको छ’

3.26K
shares

काठमाडौं, १२ पुस । नयाँ सरकार कस्तो बन्छ ? को अर्थमन्त्री बन्ला ? भन्ने विषयमा धेरैको चासो थियो । यी प्रश्नको उत्तर आइसकेको छ । देशले नयाँ प्रधानमन्त्री र अर्थमन्त्री पाइसकेको छ । प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहल ‘प्रचण्ड’ ले शपथ लिइसकेका छन् । संकटमा रहेको अर्थतन्त्रको बागडोर विष्णु पौडेलले सम्माल्ने छन् । नयाँ सकरकार बनेसँग अब शेयर बजारमा कस्तो प्रभाव पर्ला ? के शेयर बजारमा सुधार होला त ? यसै विषयको पेरिफेरिमा नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग केटिएम भ्वाइसले गरेको कुराकानीको सम्पादित अंश :

नयाँ सरकार बनेसँगै पुँजी बजारको समस्या समाधान होला त ?

आगामी सरकार कस्तो बन्ला, को अर्थमन्त्री बन्ला भन्ने सबैको चासोको विषय थियो । अब यो विषय केही हदसम्म समाधान भएको छ । नयाँ सरकार निमार्ण भएको छ । नयाँ अर्थमन्त्रीले पनि शपथ लिइसकेको अवस्था छ ।

सरकार राम्रा बनेको छ । अर्थमन्त्री पनि पुँजीबजार मैत्री व्यक्ति नै आएकाले शेयर बजारमा सधार हुन्छ । लगानीकर्ता पनि लगानी गर्ने मनस्थितिमा पुगेका छन् । किनभने अर्थमन्त्रीका रुपमा पुँजीबजार बुझेको व्यक्ति आउनु भएको छ । उहाँले विगतमा लिएको नीति र गरेको कामले गर्दा शेयर लगानीकर्ताहरु निकै उत्साहित बनेका छन् ।

३२०० विन्दुमा पुगेको शेयर बजार घट्नुको कारण केलाई मान्नु हुन्छ ?

शेयर बजार अहिलेको अवस्थामा आउनुको कारण बजार मैत्री सरकार नहुनु नै हो । बजारका विषयमा विज्ञहरुले नबोल्नु भनेको भन्दै अर्थमन्त्री आफै हिडेको अवस्थामा कसरी लगानीकर्ताहरु लगानीका लागि आकर्षित हुन्छ र ? त्यसैले यो अवस्था आउनुमा बजार मैत्री सरकार नहुनु नै हो ।

शेयर बजार राजनीतिको चपेटामा परेर यो अवस्थासम्म आइपुगेको हो । राजनीतिमा हुने उथलपुथलले शेयर बजार धरापमा पुगेको घामजस्तै छर्लङ्ग छ । राजनीति नेतृत्वले सही किसिमबाट निर्णय नगर्दा र जथाभावि बोल्दै हिड्दा यो अवस्था आएको हो ।

४/१२ को नीतिमा पनि केही परिवर्तन भयो तर अवस्थामा त सुधार आएन नि ?

४/१२ को नीतिमा केही परिवर्तन भएको भनेको पहिले ४ वटा बैंकबाट १२ करोड रुपैयाँ लिन पाउने थियो भने अहिले एउटै बैंकबाट लिन पाउने बाहेक खासै केही पनि भएका छैन् । १२ बाट १३ लिन पाउने भए पो सहज भयो भन्ने हो । रकम नबढाएको अवस्थामा एउटा बैंकबाट लिए पनि धेरै बैंकबाट लिए पनि खासै फरक के भयो र ?

राष्ट्र बैंकले हेर्दा केही सहज बनाएको जस्तो देखिएको मात्रै हो । यसले लगानीकर्तामा खासै उत्साह थप्दैन । शेयर बजार अहिलेको अवस्थामा आउनुको मुख्य कारण राजनीति इगो हो । अर्थमन्त्री र गभर्नर बीचको टकराबका कारण अवस्था यस्तो भएको हो । समग्रा अर्थतन्त्र सुधार गर्ने हो भने गभर्नर र अर्थमन्त्री एउटै पार्टीको हुनु पर्छ ।

तरलता अभाव नै मुख्य कारण हो त शेयर बजार कमजोर बन्नुमा ? कि नीतिगत कुरा पनि केही छन् ?

तरलता अभाव हुँदा समग्रमा सबै देशका सबै क्षेत्रमा प्रभा पर्ने हुन्छ । जसको प्रभाव शेयर बजारमा पनि पर्ने नै भयो । त्यसैले तरलता अभाव कम हुँदै जाँदा शेयर बजार पनि सुधार हुदै जाने कुरा भइनै हाल्छ ।

बजार मैत्री र कुल नेताको रुपमा चिनिएका विष्णु पौडेल अर्थमन्त्रीका रुपमा आएकाले अब पक्का पनि सुधार हुन्छ । उहाँको कार्यकालमा विगतमा पनि शेयर बजार निकै फस्टाएको थियो । जसले गर्दा अहिले लगानीकर्ताहरु उत्साहित बनेको अवस्था छ । हामीहरुले नवनियुक्त अर्थममन्त्रीलाई शुभकामना दिने जाँदा पनि यो विषयमा कुरा गरेका छौँ र उहाँ सकारात्मक रहनु भएको छ । यसको प्रभाव अवश्य पनि शेयर बजारमा पर्छ ।

नयाँ सरकार आएको पहिलो दिनमा नै शेयर बजारमा उल्लेख्य सुधार हुनुलाई कसरी लिन सकिन्छ ?

यसलाई हामीले बजार मैत्री अर्थमन्त्री आउने हल्लाले बढेको रुपमा लिएका छौँ । अर्थमन्त्रीमा उहाँले शेयर बजारका लागि गरेका सकारात्मक कामहरुका कारण लगानीकर्तामा उत्साह थपिएकाले बजार बढेको हो ।

अब शेयर बजारमा अझ सुधार हुदै जाने विश्वस लगानीकर्ताको छ । विष्णु पौडेल बन्ने हल्लाले नै बजारमा निकै सुधार देखिएको अवस्थामा उहाँले अर्थमन्त्रीका रुपमा शपथ लिइसके पछि अझै बजार सुधार हुने अपेक्षा हाम्रो छ । जुन पहिलो एक घण्टाको बजारले देखाइसकेको छ ।

हामीले अर्थतन्त्रलाई अझ सहज बनाउनका लागि सुझाब दिएको र उहाँले पनि सकारात्मक भएकाले लगानीकर्ताहरुमा खुसीयाले देखिएको छ ।