Dhulikhel Eco Banner new

‘अहिले लगानी गर्नु भनेको नदुखेको टाउको दुखाउनु जस्तै हो’

25.43K
shares

काठमाडौं, १६ । पछिल्लो समय देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेको छ । यो सरकारले पनि स्वीकार गरेको अवस्था हो । अर्थतन्त्रका सबै सूचकहरु नकारात्मक भइरहेका छन् । नयाँ लगानी गर्ने वातावरण नै नरहेको व्यवसायीहरुको भनाइ छ । व्यवसायीहरु बढेको ब्याजदरका विरुद्धमा सडक आन्दोलनमा समेत गरिरहेका छन् । व्यवसाय चलायमान हुन सकेको छैन । उपभोक्ताको क्रयशक्तिमा ह्रास आएको छ । बैंकले ऋण प्रवाह गर्ने नसकेको अवस्था छ । यी यावद विषयका विचमा नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पनि आइरहेको छ । व्यवसायीका समस्या र महासंघको चुनावका विषयमा केन्द्रित रहेर उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष शैलेन्द्र भट्टराईसँग केटिएम भ्वाईसकर्मी पुजा माझीले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय पाल्पा जिल्लामा व्यवसायीको अवस्था कस्तो रहेको छ ?

पाल्पाको मात्रै होइन सबै तिरकाे व्यवसायको अवस्था नाजुक रहेको छ । त्यसमाथि पनि मोफसलका जिल्लाहरुमा व्यवसाय गर्नका लागि निकै गारो छ । पाल्पा पनि मोफसलको ग्रामिण जिल्ला हो । यहाँको पनि व्यवसाय दिनानु दिन कमजोर बन्दै गइरहेको छ । सरकार र राष्ट्र बैंकले लिएको नीतिका कारण साना व्यवसायीहरु थप मारमा परेका छन् । यो बाट पाल्लाका व्यवसायीहरु पनि अच्छुतो रहन सकेका छैनन् ।

ग्रामीण क्षेत्र भएकाले हामीसँग धेरै ठुला उद्योगहरु छैनन् । भएका साना तथा मझौला उद्योगहरु पनि चलेको अवस्थामा छैन । राज्यको नीतिका कारण नयाँ व्यवसायीहरु हतोत्साहित भएको अवस्था छ । जसले गर्दा स्वदेशमा सम्भावना नदेखेर व्यवसायीहरु विदेश पलायन भइरहेका छन् । जिल्लामा राम्रा र नाम चलेका व्यवसायीहरुले पनि अहिले व्यवसाय गर्न नसकेको अवस्था छ । बजारमा देखिएको तरलता अभावका कारण यो अवस्था आएको हो ।

ब्याजदर बढेको छ । बैंकले ऋणहरु पनि सजिलै उपलब्ध गराउन नसकेको अवस्था छ । यसको असर व्यवसायमा कतिको परेको छ ?

अहिले मुख्य समस्या भनेको बढेको ब्याजदर र तरलता अभाव हो । बढेको ब्याजदरमा व्यवसायीहरुले लगानी गर्न सक्ने अवस्था नै छैन । राज्यले व्यवसायीलाई सहज बनाउने तर्फ ध्यान दिएको देखिदैन् । राज्यले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कुरालाई भन्दा पनि युवाहरुलाई विदेश पठाउने तर्फ बढी ध्यान दिएको अवस्था छ । विदेशमा रोजगारी गर्न गएकाहरुबाट आउने रेमिट्यान्सलाई राज्यले बढी प्राथमिकता दिएको छ । रेमिट्यान्सले देश धान्ने तर्फ नीति निर्माताहरु रहेका छन् ।

जबसम्म राज्यले उत्पादन बढाउने नीति आत्मसाथ गर्दैन तबसम्म स्वदेशमा रोजगारी र उद्योग खुल्ने सम्भावना कम हुन्छ । गाउँघरमा विकास निर्माण को योजनाहरु ल्यायो भने युवाशक्ति र जनशक्ति भेटिन नै गाह्रो छ । हिजोआज गाउँघरमा बुढापाका र केटाकेटी मात्रै भेटिन्छन् ।

कसैले उद्योग व्यवसाय गर्ने सोच बनाएको खण्डमा पनि वातावरण नै छैन । उद्योग खोल्नका लागि निकै चुनौति रहेको छ । अहिले त आर्थिक मन्दीका कारण यस्तो भयो । अरु समयमा पनि लगानीको वातावरण सिर्जना भएको देखिदैन । अहिले व्यवसाय गर्नु भनेको नदुखेको टाउको डोरी लगाएर दुखाउनु जस्तै हो । व्यवसाय गर्नु भनेको आफ्नो खुट्टामा आफै बञ्चरो हान्नु सरह भएको छ ।

सरकारले वा राष्ट्रबैंकले के कस्ता कदमहरु चालिदिए व्यवसायीक वातावरण सहज हुने थियो ?

तत्काल राज्यले बढेको ब्याजदरलाई नियन्त्रण गर्नु पर्छ । अर्को स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्छ । सधै रेमिट्यान्समा नै देश चलाउन सकिन्छ भन्ने कुरा नै गलत छ । यसमा परिमार्जन गरेर स्वदेशमा उत्पादनशिल क्षेत्रमा लगानी बढाउनु पर्ने देखिन्छ ।

सरकारले वा सम्बन्धीत निकायले देशमा नै रोजगारीको अवसरहरु सिर्जना गर्नुपर्‍यो । युवाहरुलाई विदेशिनबाट रोक्नुपर्‍यो । महासंघका पदाधीकारीहरु नै राष्ट्रबैंकसँग मिलेर कर्जाको ब्याजदर बढाउँछन् । यस्ता कार्यहरु पनि रोकिनु पर्‍यो । व्यवसायीको नेतृत्वमा पुग्नेहरु नै बैंकसँग मिलेर व्यवसायीहरुलाई कमजोर बनाउने तर्फ लागेका छन् । व्यवसायीहरुलाई ठिक्क पार्नका लागि मात्रै विरोध गरेजस्तो गरिन्छ । वास्तविक रुपमा बैंकसँग महासंघको नेतृत्वले पैसा खान्छ ।

बैंकहरु त झन त्यसै मोटाउने भईहाले । अनि व्यवसायीहरु यसै धरासायी हुने भैहाले । पछिल्लो समय व्यवसायीक क्षेत्रमा बैंकहरु लगातार नाफामा गएका छन् भने व्यवसायीहरु निरन्तर नोक्सानीमा रहेका छन् । फेरि महासंघ कहिले व्यवसायीको पक्षमा बोल्छ त कहिले राष्ट्रबैंकको पक्षमा उभिन्छ । की व्यवसाइलाई मात्र साथ दिनुपर्‍यो की राष्ट्रबैंककै पक्षमा उभिनुपर्‍यो । एउटै व्यक्ति, एउटै संस्था दुईओटा भुमिकामा बाँधीएपछि द्धन्द्ध त्यसै सिर्जना हुने भैहाल्यो । यस्तो अवस्था अहिलेको वर्तमान महासंघमा देखिएको छ ।

ब्याजदर बाहेक निजी क्षेत्रको व्यवसायहरुले अरु के–के समस्या भोग्नु परेको छ ?

मुख्य त ब्याजदर नै हो । त्यो बाहेक अरु समस्या पनि व्यवसायीहरुले भोगीरहेका छन् । खुल्ला सिमाना, भन्सार शुल्क, बजारको अभाव, कच्चा पदार्थको उपलब्ध हुन नसक्ने जस्ता धेरै समस्याहरु रहेका छन् ।

हाम्रोमा खुला सिमानाका कारण भारतबा गैर कानुनी रुपमा आउने सामानहरुसँग कर तिरेर आउने सामानले प्रतिस्पर्धा गर्न गारो भइरहेको छ । एउटा सामान्य निमन्त्रणा कार्डको भरमा भन्सारबाट अधिकांश सामानहरु आयात भइरहेको छ । सरोकारवाला निकायले नेपाल, भारत खुला नाका क्षेत्रमा गएर कडाईका साथ ती आयातीत सामानलाई रोक्न सके मात्र नेपालको व्यवसायीलाई धरासायी हुनबाट रोक्न सकिन्छ । भारतबाट आयातीत सामान रोक्नको लागी यस्ता अभियान चाल्नैपर्ने देखिन्छ । स्थानीयस्तरबाट आउने कच्चा पदार्थहरुका कुरामा बजारीकरणका कुरामा सरकारकारले व्यवस्थापन नगरेसम्म यहाँ व्यवसाय फस्टाउन सक्ने अवस्था देखिदैन ।

स्थानीय उत्पादनको कुराहरु गर्नुपर्दा, के–के उत्पादन हुन्छन् । बजारीकरणको समस्या कस्तो छ ?

हाम्रोमा स्थानीय उत्पादनका रुपमा करुवा, ढाका, छुर्पी, दालचिनी, तथा जडिबुटी, अदुवा आदि रहेका छन् । स्थानीय रुपमा उत्पादन भएका वस्तुको बजारीकरणमा भने निकै समस्या रहेको छ । बजारीकरणका लागि सरकार तथा विभिन्न सरोकारवाला निकायहरुले खासै काम गरेका छैनन् । जसले यहाँ उत्पादन भएका वस्तु बजारसम्म पुर्‍याउनका लागि निकै समस्या भइरहेको छ ।

स्थानीय रुपमा उत्पादन हुने वस्तुको सहज बजारीकरणका लागि आधुनिक प्रविधिहरु भित्र्याउनु पर्ने आवश्यकता देखिन्छ । तर सरकारको नीति बुझ्न नसकिने किसिमको छ । पाल्पालाई ढाकाको राजधानीको रुपमा घोषणा गरेको छ । फेरि केहि समयपछि तेह्रथुमलाई पनि ढाकाको राजधानकिो रुपमा घोषणा गरिदियो । सरकारको दोहोरो चरित्र देखायो । हाम्रो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि पहल गर्न नसकेको देखियो । सीटीईभिटीईसँग समन्वय गरेर पनि तालिम दिन सक्ने हो भने पनि सहज हुने थियो ।

२०१५ सालदेखि हामीले पाल्पाली ढाकाको संरक्षण र प्रवर्धनमा लागी परेका छौँ । पाल्पाली ढाकाको व्यापक उत्पादन र प्रवर्धनको लागी पटकपटक सरकारसँग कुरा पनि गरेका छौँ । तर सुनुवाई भने भएको छैन । पाल्पाली ढाका उत्पादनका सामानहरु जुटाउन पनि निकै सकस परेको छ । सामानको अभाव छ । बाहिरबाट सामान आयात गर्नुपर्ने अवस्था छ । ढाका उपभोक्ताको माग बमोजिम पुर्ति गर्न सकेका छैनौ । छुर्पीले चाँहि राम्रै बजार पाएको अवस्था छ ।

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पनि नजिकीदै छ । आगामी नेतृत्व कप्तो चाहानु भएको छ ?

जिल्ला नगर उद्योग वाणिज्य संघको शाखा अन्तर्गत हामी पनि छौँ । हाम्रा कुरा सुनुवाई हुने असल नेतृत्वकर्ता हामीले खोजेको हो । नेतृत्वले हाम्रो भावनालाई बुझ्न सक्नु पर्‍यो । पदमा पुग्नका लागि हामीलाई भर्‍याङ बनाउने काम मात्रै भइरहेको छ । व्यवसायीका समस्याहरु समाधान गर्न सक्ने र सरकारसँग पनि मुकाविला गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको छ ।

पदमा पुग्नलाई म्याउम्याउ गर्ने अनि पदमा पुगेपछि हामीलाई बिर्सने काम नेतृत्वमा पुग्नेहरुबाट भइरहेको छ । अहिलेको जस्तो नेतृत्व आउँछ भने हामी खबरदारी गर्ने छौँ । अहिले हामी हिजोको जस्तो चुप बस्ने अवस्थामा छैनौ । यदि व्यवसायीहरुका पिर मर्कालाई बुझ्न नसक्ने हो भने हामीले चुनावमा भोट हाल्नै पर्छ भन्ने पनि छैन् । व्यवसायीहरु चुपचाप वस्न सक्ने अवस्था छैन ।