Dhulikhel Eco Banner new

‘आमरण अनसन अन्तिम अस्त्र हो, माग पुरा नभएसम्म पछि हट्दैनौँ’

7.68K
shares

काठमाडौं, २४ जेठ । पुँजी बजारका समस्याका विषयमा लामो समयदेखि आवाज उठाउँदै आएका तिलक कोइराला पुनः आमरण अनसन बस्ने तयारी गरिरहेका छन् । खासमा किन उनी फेरि आमरण अनसन बस्ने अवस्थामा पुगे ? यसअघि दुई पटक अनसन बसिसकेका उनी यसपट किन र के माग लिएर आमरण अनसनमा बस्न लागेका हुन् ? यसै पेरिफेरिमा केटिएम भ्वाइससँग गरिएको कुराकानीको सम्पादित अश :

एक गतेपछि अनसन बस्दै हुनुहुन्छ ? बजार घटे पछि तपाइहरुको रुवाबासी भइनै रहन्छ, के बजार घटेपछि रुवाबासी गरिहाल्नु पर्छ ?

केही मिडियाकर्मी र अरु व्यक्तिहरुमा भ्रम छ अहिले शेयरको मूल्य बेस्सरी घट्यो । फेरि यिनीहरु आन्दोलन गर्न थाले । शेयरको मूल्य बढाउनलाई आन्दोलन गर्न थाले भन्ने भ्रम छ ।


जतिबेला हामीले दोस्रो अनसन गरेका थियौँ, त्यतिबेला शेयरको मूल्य बढीरहेको थियो र धितोपत्र बोर्डका तत्कालिन अध्यक्षले नै शेयरको मूल्य घटाउनका लागि यिनीहरु अनसन बसे भन्नु भएको थियो । यो हामीले गर्ने आन्दोलनलाई शेयरको मूल्य बढाई र घटाइसँग जोडेर हेर्नु दुर्भाग्यपूर्ण हो । हामीले शेयरको मूल्य घट्यो बढाइदेउ भनेर वा बढ्यो घटाइदेउ भनेर आन्दोलन अनसन गरेको हाइनौँ ।

सुरुका दिनदेखि हाम्रो माग के हो भने हामीले जब पहिलो अनसन गरेका थियौँ, त्यतिबेला हामीले सुधारका काम गरिदिन र विकासका काम गरिदिनका लागि आग्रह गरेका थियौँ । हाम्रो पुँजी बजारमा यो यो नीति नियम र प्रविधि र पूर्वाधारको अभाव छ त्यसलाई पूर्ती गरिदिन भनिएको थियो ।

त्यस पछि ५८ बुँदे हाम्रै आन्दोलनको जगमा निर्माण भयो । त्यस पछि अर्थमन्त्रालयले त्यसलाई निमार्ण गर्‍यो । हामीले दबाव दिएको मागको आधारमा यो यो समयमा यो यो कार्य हुने भनेर कार्यतालिका समेत बन्यो । २०७५ सालको चैत मसान्त भित्र त्यो पुरा भइसक्नु पर्ने थियो । तर पुँजी बजार सम्बन्धित कुराहरु साढे तीन वर्षसम्म पनि पुरा भएका छैनन् ।

तीन वर्ष पहिले गरिसक्नु पर्ने कार्य अहिलेसम्म पनि केही पनि हुन सकेको छैन । अर्थमन्त्रीले दुई महिना अघिनै गर्छु भनेका कार्य पनि केही भएका छैनन् । हामीले पुँजी बजारमा यो-यो नीति नियम भएन भनेर १९ बुँदे माग अघि सारेको अवस्था छ ।

१९ बुँदे मागमा के– के छन् ?

१९ बुँदे मागमा पुँजी बजारसँग सम्बन्धित विभिन्न नीति नियम र पूर्वाधारको तत्काल व्यवस्था गर्देउ । यो हामीले भनेको होइन यस अघि सरकारले गर्छु भनेका काम तत्काल गर्देउ भनिएको छ । पहिलो माग भनेको विगतको एमाले सरकारले तीन वर्ष पहिले नै र अहिलेका अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदे मागका बाँकी कार्य तत्काल पुरा हुनु पर्ने । हाम्रो त मागै होइन सरकारले गर्छु भनेको काम गरिदेउ । सरकारले आफूले गरेका बाचा पुरा गर भन्या हो हामीले । हाम्रो माग होइन । हामीले शेयरको मूल्य बढाइदेउ भनेर त यहाँ भनेको होइन ।

हामी के भन्छौँ भने सरकार वा नियमनकारी निकायले शेयरको मूल्य घट्योकी बढ्योकी, घटाउने की बढाउने उसको चासोको विषय हुनै हुदैन् । अहिले मूल्य घट्यो भनेर उसले चासो दिनै आवश्यक छैन् । मूल्य धेरै बढ्यो कसरी घटाउने भन्ने उसको दिमागमा हुनै हुदैन् ।

नियामक निकायले बजार अलि बढ्यो भने, नियन्त्रण गर्ने अलि घट्योस् भन्ने चाहाने ? अनि तपाईहरु अलिकति मूल्य घट्यो भने बढाओस् भन्ने रुवाबासी गरिहाल्ने अनसन बसिहाल्ने यो अवस्था कहीलेसम्म ?

यो दुइ वटै कुरा गलत । शेयरको मूल्य घट्यो भने नियमनकारी निकाय सरकारले यसको मूल्य घटाउनु पर्ने । घटाउने नियम ल्याउनु पर्ने । अनि मूल्य घट्यो भने लगानीकर्ताबाट रुवाबासी हुने यो दुई वटै गलत हो । हामी दुई वटै कुराको विरुद्धमा छौँ ।

तपाईकै नेतृत्वमा नेप्सेको अघाडि गएर कालो झण्डा देखाउने, दुई पटक अनसन बसेको बजार घटकै कारण होइन ?

पहिलो हामीले आन्दोलन गरेका थियौँ त्यतिखेर बजार घटिरहेको थियो । मूल्य घटिराको थियो । दोस्रो जुन हामीले आमरण अनसन गर्‍यौँ त्यतिखेर बजार मूल्य बढीरहेको थियो ।

दोस्रोपटक आमरण अनसन बस्दा खास माग थिएनन्, खास कति दिन अनसन बस्नु भयो ?

त्यो बेला माग थिएन भने ५८ बुँदेका बाँकी काम गर । बजारमा मूल्य बढ्दा झन रिक्स बढेर गएको हुन्छ । बजारमा सुधार र विस्तारको काम गरियो भने बजारलाई स्थायित्व प्रदान गर्न सकिन्छ । बजार राम्रो हुन्छ । धेरै लगानिकर्ताको हित संरक्षण हुन्छ भनेर हामीले त्यो बलेमा माग उठाएको हो।

अहिले पनि हामी के भन्छौँ भने शेयरको मूल्य घटाइ बढाइसँग सरकारको वा अरु कसैको सरोकार हुनुहुदैन् । मात्रै हुनु पर्ने काम भयो कि भएन पुँजी बजारमा गर्नु पर्ने काम गरियो कि गरिएन् ।

दोस्रो पटक अनसन बस्दा माग पुरा भएनन् ? उदारोमा एउटा जुस खाएर अनसन छोड्नु भयो ?
यस्तो हुन्छ धितोपत्र बोर्डकै अध्यक्ष आएर हामी काम गछौँ तपाईको काम हामी तत्काल गछौँ भनिसके पछि त्यसलाई विश्वास गर्नुपर्ने आधार थियो । धितोपत्र बोर्डको अध्यक्ष जो हाम्रो अभिभावक हो । जो लगानीकर्ताको हित संरक्षणका लागि काम गर्ने प्रमुख निकाय हो ।

सुप्रिम बडि हो स्टक मार्केटको पनि । त्यसको अध्यक्ष नै आएर प्रतिबद्धता व्यक्त गरे पछि त्यहाँभन्दा अरु हामीले गर्ने के ? तत्कालै अहिलेको अहिले एक मिनेटमै काम गर भन्ने अवस्था थिएन ।

सबै प्रक्रिया हामीले अगाडि बढाएका छौँ । वाणिज्य बैंकलाई ब्रोकर लाइसन्स दिने कुरा मैले नियमावली बनाएर अर्थ मन्त्रालय पठाएको छु । त्यो एक दुई दिनमा स्वीकृत हुन्छ । म तत्काल त्यो काम गर्छु । अरु काम यसरी यसरी गर्छु भनेर प्रतिबद्धता गर्नु भएको थियो । त्यहि प्रतिबद्धताको आधारमा हामीले विश्वास गरेका हौँ ।

फेरि तेस्रो पटक पनि आन्दोलन घोषणा गर्नु भएको छ । ५–७ दिन अनसन बस्नु हुन्छ त्यस पछि फेरि उदारोमा सहमति गरेर एउटा फ्रुटी जुस खाएर अनसन तोड्नु हुन्छ त्यहि हैन त ?

गलत । यो पटक हामी उदारो सहमतिमा कुनै एक किसिमको प्रलोभनमा वा कुनै पनि काम गछौँ नि भनेको आधारमा वा मुखौटोको वा मुखले भनेको आधारमा हामी पछाडि हट्दैनौँ । यो पटक हामी निष्कर्षमा पुग्छौँ । पुँजी बजारमा फेरि लगानीकर्ताले आन्दोलन गर्न नपर्ने, अनसन बस्नु नपर्ने किसिमको एउटा ढुक्कको वातावरण निर्माण गरेर मात्रै यो आन्दोलन बाट हामी पछाडि फर्किन्छौँ । नत्र हामी कुनै पनि हालतमा मैदान छोड्नेवाला छैनौँ ।

बालमिकी बैठकमा के निर्णय भयो ? तपाईहरु जम्मा हुन भएको थियो ?
हिजो हामीले एउटा संघर्ष समिति निर्माण गरौँ । २५ सदस्यीय संघर्ष समितिले चरणबद्ध, शान्तिपूर्ण, भद्र आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

संघर्ष समितिले के गर्छ ? तपाईको अनसनलाई सहयोग गर्ने वा अन्य केही कार्यक्रम छन् ?
हामीले कार्यक्रम तय गरेका छौँ । धितोपत्र बोर्डमा गएर अन्तक्रिया गर्ने, भेटघाट गर्ने, यो काम गरे भनेर भन्ने । त्यस पछि अर्थमन्त्री, प्रधामन्त्रीलाई भेट्दैछौँ ।

राजनीति दलका मानिसहरुलाई अर्थात अध्यक्षहरुलाई भेटेर पुँजी बजारलाई तपाईहरुले वेवास्था गर्ने, दवाउने वा सिध्याउँछु भन्ने किसिमको होइन कि यसलाई माया गर्नुस, पूर्वाधार सम्पन्न नीति नियम सम्पन्न बनाउँनुहोस्, प्रविधि सम्पन्न बनाउँनुहोस्, तपाईको पक्षमा त जनमत हुन्छ ।

तपाईहरुले किन यो पुँजी बजारलाई दवाउन खोज्नु हुन्छ ? यो गर्नु घातक छ भनेर उहाँहरुलाई सम्झाउँछौ र पुँजी बजारका काम तत्काल अघि बढाउनका लागि सरकारलाई निर्देश गर्नुस भनेर भन्छौँ । त्यस पछि विज्ञहरुसँग हामी छलफल गछौँ, व्यापक रुपमा अन्तक्रिया गछौँ र आमरण अनसन अन्तिम अस्त्र हो र त्यस पछि केही पनि भएन भने आमरण अनसनमा बस्छौँ र आमरण अनसन अगाडि बढ्छ ।

१९ बुँदे माग राख्नु भएको छ, तपाईहरुले भनेको बजार सुधार र विस्तार भनेको के हो ? ठ्याक्कै यो भयो भने बजार सुधार हुन्छ र विस्तार हुन्छ भन्ने के छ ?

एउटा हामीले मागमै उल्लेख गरेका छौँ । वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पुँजी कायम गरी तत्काल ब्रोकर लाइसन्स वितरण गर्नु पर्ने, वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसन्स वितरण गर्ने कुरा एक दुई दिनमै हुन सक्ने काम हो ।

वाणिज्य बैंकले जब सहायक कम्पनी स्थापना गर्छ र उसले सञ्चालन गर्छ भने एक अर्ब रुपैयाँ चुक्ता पुँजी ठूलो कुरा होइन । वाणिज्य बैंकले सजिलै सक्छ र त्यो ठूलो पुँजी भएको ब्रोकर हाम्रो पुँजी बजारमा आयो भने स्टक बजार विस्तारित भएर जान्छ । लगानीकर्ताले धेरै सुविधा पाउँछन् र पुँजी बजारको आकार फराकिलो भएर जान्छ ।

त्यसैगरी ब्रोकर कमिसन र फुल ब्रोकरहरुको वर्गिकरण गरी कमिसन ब्रोकर र फुल ब्रोकर गरी दुई खाले ब्रोकर हामीले तय गर्नै पर्छ । एउटा फुल फेजमा सबै काम गर्ने सक्ने ब्रोकर जसले मार्जिन ट्रेडिङ पनि देहोस्, पोटफोलियो पनि म्यानेज गरोस्, डिलरसिपको काम पनि गर्न सकोस् । सव ब्रोकर पनि डिस्टुविटर गर्न सकोस् ।

अर्को कमीसन, लगानीकर्ताहरुलाई कारोबारको अवसर मात्रै दिने र कमिसन मात्रै असुलेर बस्ने खालको ब्रोकर अहिलेका जस्ता ब्रोकर दुई खालका ब्रोकर हुनै पर्छ र त्यही अनुसार पुँजी व्यवस्था पनि गर्न सक्नु पर्छ । जस्तो अहिलेका ब्रोकरलाई हामीले एक अर्ब पुँजी जम्मा गर भन्दा त्यो अन्याय पूर्ण हुन्छ । तर अहिलेका ब्रोकरले पनि पुँजी वृद्धि गर्नु पर्ने तर दुई वर्षको बीचमा ।

ब्रोकर कम्पनीको पुँजीको कारणले समस्या हो र ?

अहिले मार्जिन ट्रेडिङ, सुविभा लगानिकर्ताहरुलाई ब्रोकरले दिन सकेका छैनन् । त्यसको मुख्य कारण नै उनीहरुसँग स्रोत छैन् । जब ब्रोकरसँग स्रोत छैन उसले कहाँबाट लगानिकर्तालाई लोन दिन सक्छ । अनि ब्रोकरलाई बैंकले के आधारमा पत्याउँछन् ।

उनीहरुको नेटवर्क छ कि छैन् ? नेटवर्कको आधारमा वाणिज्य बैंकले पत्याउने हो । जब ब्रोकरको नेटवर्क नै छैन् त्यो पनि जुन पुँजी कायम गरेका छन् उनीहरुले कागजी । कागजी पुँजी मात्रै हो वास्तविक पुँजी छैन् । वास्तविक नेटवर्क छैन भने त्यो ब्रोकरले सेवा दिनै सक्दैन ।

यो स्टक मार्केट भनेको जोखिनको क्षेत्र पनि हो । एउटा ब्रोकरमा ठूलो घोटाला भयो भने उसले आफ्नो ग्राहकलाई शेयर बेचेको पैसा भुक्तानी दिन सकेन भने त्यहाँ जोखिम व्यवस्थापन कसरी हुन्छ ।

यस्ता घोटालाहरु त विभिन्न ब्रोकरहमा भयो । कित्रे खाता खोलेर पनि यस्तो भयो नि त । त्यो जोखिम व्यवस्थापन गर्नका लागि ब्रोकर पुँजीका हिसाले र नेटवर्कका हिसाबले सक्षम हुनै पर्छ । प्रविधि र पूर्वाधार त उसको हुनै पर्ने कुरा हो । नत्र उसले सेवा दिन सक्दैन । अहिले एउटा टीएमएस सञ्चालन गर्न निर्माण गर्न नै करोडौँ रकम लाग्ने अवस्था छ ।

जब ब्रोकर आफू नेटवर्क र पुँजीका आधारमा बलियो हुँदैन भने उसले लगानिकर्तालाई पनि सन्तुष्ट पार्न सक्ने गरी सेवा दिन सक्दैन् । गुणस्तरीय सेवा दिन सक्दैन । त्यसैले ब्रोकरहरुको पुँजी बडाउनै पर्छ । ब्रोकरको विजनेश बढाउने हो भने पुँजी बढाउनु पर्छ । ब्रोकरको विजनेश नबढाउने हो भने पुँजी बजार कसरी विस्तार हुन सक्छ ।

अलिहे प्राइमेरि मार्केटमा ५२ लाख लगानीकर्ताले डिम्याट खाता खोले । ब्रोकरहरुमा १२–१५ लाख सक्रिय लगानीकर्ता छन् अनलाईन कारोबार गर्नेहरु । भने पछि भोली लगानीकर्ताहरुले पनि त्यही अनुसारको सुविधा खोज्छन् । ब्रोकरहरुबीचमा प्रतिप्रधा हुन्छ । त्यो प्रतिप्रस्र्धा गर्नका लागि पनि जो पुँजी बढी छ र सक्षम छ उसले राम्रो सुविधा दिन सक्छ लगानीकर्ताहरुलाई ।

अहिले ५२ लाख डिम्याड प्रयोगकर्ता छन् । त्यसमा १२ लाख अनलाइन प्रयोगकर्ता रहेका छन् । केही व्यक्तिहरुले मात्रै फाइदा लिइरहेका छन् ? सय जनाको समूहले मात्रै बजार कब्जा गरेका छन् ?

पँजी बजार भनेको पुँजीले सञ्चालन गर्ने हो । एउटा सानो १० कित्ता शेयर हाल्न पनि त एक हजार रुपैयाँ चाहियो नि । एकहजार हाल्नु भयो भने पाउने भनेको १० कित्ता हो बढीमा । एक करोड हाल्नु भयो र ठूलो संख्यामा शेयर बिक्रीमा आएको थियो र सारा लगानीकर्तालाई १० कित्ताका दरले भाग लगाउँदा पनि बाँकी रहने भयो भने त्यो बाँकी रहेकको शेयर कहाँ जाने भयो त भन्दा एक करोड लागानि गर्ने लगानि कर्ताकामा जाने भयो । त्यसैले पुँजी बजारमा जसले बढी पुँजी लगाउन र जोखिम लिन सक्यो, जसले लगानी रणनीति बनायो उसैले फाइदा लिन सक्छ ।

अहिले पनि करोड र अर्व लगानी गर्नेले लाभ लिइरा छन् ?
लिन्छन् । पुँजी बजार भनेको जसले विवेकपूर्ण निर्णय गर्छ, जोसँग पुँजी छ जसले बजारको खेल बुझ्न सक्छ उसले कमाउँछ । बजारमा आउने सबैले कमाउन सक्दैनन् । यो जोखिमको क्षेत्र हो । सबैको लगानी सुरक्षण हुने भन्ने होइन । सबै मालामाल हुँदैन् ।

कमाउने कतिजना हुनुहुन्छ ?
विश्व बजारको कुरा गर्दा ९० प्रतिशतले गुमाउँछन् । नेपालको सन्दर्भमा यतिले नै कमाएका छन् भनेर भन्न सक्ने अवस्था छैन । एकदम कमले मात्रै कमाएका छन् । सबैले कमाएका छैनन् । पुँजी बजारभन्ने वित्तिकै दुई वटा बजार हुन्छ । एउटा प्राइमेरी र सेकेण्डरी बजार ।

प्राइमेरी बजारमा लगानी गर्नेहरु अधिकांशले कमाएका छन्। जसले आइपीओ भरे। जो आइपीओमा मात्रै सिमित छन् । ति अधिकांशले कमाएका छन् । जो सेकेण्डरी मार्केटमा आएका छन् उनीहरुले धेरै रिक्स पनि लिएका छन् त्यो रिक्स लिए पछि गुमाउनेको संख्या पनि धेरै छ र कमाउनेको संख्या सानो छ ।

कमाउने थोरै संख्याका लागि तपाई फेरि आमरण अनसन बस्दै हुनुहुन्छ ?

होइन, आम लगानिकर्ताका लागि अनसन बस्न लागेको हो । शेयर बजार कम जोखिमपूर्ण होस् । जसले आईपीओ पार्छ बेच्नका लागि पनि दोस्रो बजारमा नै आउनु पर्छ । दोस्रो बजारमा आए पछि सहज ढंगले बेच्न सकोस् । उसले बेचेको शेयरको पैसा तत्कालै सहजै प्राप्त गर्न सकोस् ।

उसले बेच्ने शेयरको सही मूल्य प्राप्त गर्न सकोस् । यसरी हामीहरु प्राइमेरी बजारको लगानिकर्ताको पक्षमा पनि त्यतिकै बोलिरहेका छौँ । किन भने हामीले एउटा माग राखेका छौँ । माग के छ भने बैंक खाता हितग्राही खाता, कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानिकर्ता स्वयमले युजर आईडी र पासवर्ड प्रयोग गरी बिक्री गरेको शेयरको स्वत: ईडीआईएस हुनु पर्ने अवस्था गर्नु पर्ने ।

दुई वटा मार्जिन हुन्छ शेयर खरिद गर्दा बैंक खाता ब्रोकर मार्जिन खडा गरिनु पर्ने । दुईवटा विकल्प हुन्छ एउटा ब्रोकरले लिमिट दिन्छ । त्यो लिमिटको आधारमा खरिद बिक्री गरिन्छ । अर्को बैंक खातामा पैसा छ भने पनि त्यो पैसा प्रयोग गरी खरिद बिक्री गर्न सकिने व्यवस्था छ अहिले पनि । तर ब्रोकर लिमिट र बैंक एकाउन्टको कुरालाई अहिले हाइट गरिएको छ ।

खाली ब्रोकरले लिमिट दियो भने खरिद बिक्री गर्न सकिन्छ । नत्र किन्न पाइएन । मेरो खातामा पैसा छ किन्छु भन्दा अहिले पाइनदैन । त्यो सिस्टममा राखिएको छैन् । यो माध्यम भनेको पहिलो बजार तथा दोस्रो बजारका लागानिकर्ताहरुका लागि पनि महत्वपूर्ण छ । शेयर बेचेपछि तत्काल पैसा बैंक खातामा जानु पर्‍यो, ब्रोकरकोमा फोन गरेर धाउनु पर्ने बाध्यता अन्त्य भयो नि पहिलो बजारका लगानिकर्ताहरुको । त्यस्तै दोस्रो बजारका लगानिकर्ताहरुलाई पनि हामीले त्यतिकै कुराहरु उठाएका छौँ ।

हामीले समग्र लगानिकर्ताको कुरा उठाएका छौँ । खाली लगानिकर्ताको मात्रै कुरा उठाएका छौँ ? होइन । सरकार, ब्रोकर लागि पनि कुरा उठाएका छौँ । ब्रोकरको लागि पनि उनीहरुको शाखा विस्तारको तत्कालै स्वीकृति दिन पर्‍यो । उनीहरुलाई पुँजी र प्रविधिबाट समुन्नत गरी उनीहरुलाई फुलफेजको कारोबार गर्ने अधिकार दिन परो ।

उनीहरुलाई सब ब्रोकरको सुविधा पनि दिन पर्‍यो, उनीहरुले डिलरसिपको व्यवस्था पनि गर्न सकुन् । एडभाइजरीको कार्य पनि गर्न सकुन । हामीलेले ब्रोकरको विजनेश बढाउने कुरा पनि गरिरहेका छौँ । हामी दोस्रो बजारका सिमिति व्यक्तिहरुको लागि मात्रै होइन । समग्र पुँजी बजारको एजेण्डा लिएर अगाडि बढेका छौँ ।

यो आन्दोलन सफल होला ? दुई वटा अनसन फेलिएर हो तपाई ? किन भने उदारो सहमति गर्नु भएको छ ? तपाईहरुले राखेका ५८ बुँदे मागहरु पुरा होलान जुन जुुन पुरा हुन सकेका छैनन् ?

हिजो हामीले धेरै विश्वास गरेको अवस्था हो । हामीले अलि कमजोर कुरा गरेर उदारोमा उठेको अवस्था हो । पहिलो आन्दोलनले ५८ बुँदे तयार पारेको थियो । त्यी मागलाई कार्यान्वयन गर्न समय लाग्थ्यो । हामीले माग पुरा गर भनेर छोडिदिएउँ ।

५८ बुँदे उपलब्धीत हात लाग्यो । त्यसबाट पुँजी बजारमा तत्कालका लागि केही सुधार त भएको थियो । पुँजी बजारमा केही नयाँ कुरा आयो । अनलाइन सिस्टम आयो । राष्ट्र बैंकले धितो कर्जा ५० बाट ६५–७० प्रतिशत पुर्‍याइयो । अरु कामा पनि भए तर बाँकी काम रोकिए ।

त्यस पछि हामीले दोस्रो आन्दोलन गर्नु पर्‍यो । त्यो कार्यान्वयन गरे । यो कार्यान्वयन गर्नै पर्छ भन्यौँ । धितोपत्र बोर्डका अध्यक्ष हामीले यो गरेको छौँ, यो गर्दैछौँ । यति समय दिनुस मलाई भनेपछि हामीले त्यसलाई विश्वास गरेको अवस्था हो । त्यहाँ विश्वास घात भयो । यो तेस्रो पटक कुनै परिणाम हात नलागेसम्म ब्याक हुने छैनौँ ।

तपाई आर्थिक पत्रकार कि, शेयर लागानीकर्ता कि राजनीति नेता ?

मैले इमान्दारीताका साथ भन्नु पर्छ म शेयर सक्रिय रुपमा दोस्रो बजारमा कारोबार गर्न थाले पछि पत्रकारिता छोडिदिएँ । पत्रकारिताको सिप छ तर आर्थिक पत्रकार भने होइन ।

कुनै पनि शेयर बजार प्रभावि गर्ने गरि मैले कुनै पनि विषय लेखेको छैन । कुनै कम्पनीको विषयमा लेख्दा अन्तिममा मेरो शेयर भए मेरो पनि शेयर छ है भनेर जानकारी सहित लेख्ने गरेको थिए । कसैलाई उचाल्ने र कसैलाई सिध्याउने गरी कुनै पनि गतिविधि गरेको छैन् । केही व्यक्तिहरुको कुरा गर्दा उहाँहरुलाई सिध्याउने भन्दा पनि सुधारने कार्य गरेको हुँ ।

तपाई पनि संसदीय चुनाव पनि लड्दै हुनुहुन्छ ?
म जन्मे हुर्केको चितवन क्षेत्र नम्बर १ हो । यदि संसदिय चुनाव समयमै भयो भने म प्रतिप्रर्धामा  उठ्छु ।

बालेन साह र हर्क साम्पाङले चुनाव जिते पछि तपाई पनि उत्साहित हुन भयो ?

बालेन साह हाम्रो पनि उम्मेदवार हो । हर्क साम्पाङ जसले दुःख गर्नु भयो त्यहाँका जनताले चिनेर चुनाव जितेको अवस्था हो । उहाँले पनि राम्रो काम गर्नु हुन्छ भन्ने हो । बालेनले पनि राम्रो काम गर्छन भन्ने विश्वास छ । तर संसदमा पनि सक्षम व्यक्तिहरु पुग्नु पर्छ ।

जुन विषयमा जो विज्ञ छ, जो बोल्न सक्छ, जो पैरवी गर्न सक्छ ति मानिसहरु संसदमा पुग्नु पर्छ र संसद विज्ञको थलो बन्नु पर्छ, जनताको सही आवाज पुग्नु पर्छ भन्ने हिसाबमा मैले संसदमा उठ्छु भनेको हो ।

तपाई चितवनका जनताको आवाज पुर्‍याउनु हुन्छ कि देश भरिका ५२ लाख लगानिकर्ताको आवाज पुइयाउनु हुन्छ त ?

पुँजी बजारको सम्बन्धमा देशै भरका ५२ लाख लगानीकर्ताको आवाज उठाउँछ । चितवन क्षेत्र नम्बर १ का जनता पनि पुँजी बजारसँग जोडिएका छन् । त्यहाँ पनि हजारौँ जनताले आईपीओ भरेका छन् । सयौँ त्यहाँका स्थानीय दोस्रो बजारमा आवद्ध रहेका छन् ।

उनीहरुको पनि चासो पुँजी बजारमा रहन्छ । त्यसैले उनीहरुको पनि आवाज उठाउँछु । त्यहाँका जनताई पुँजी बजारमा कसरी सुरक्षित रुपमा लगानी गर्न सकिन्छ भन्ने विषयमा पनि जागरण ल्याउने प्रयास गर्नेछु ।