Dhulikhel Eco Banner new

अब सबै सार्वजनिक यातायातमा सीसीटीभी राखिने

3.28K
shares

काठमाडौं, १५ चैत । सरकारले सार्वजनिक यातायातलाई सुरक्षित बनाउने उद्देश्यसहित सबै सवारी साधनमा सीसीटीभी जडान गर्ने घोषणा गरेको छ। विशेष गरी सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा नियन्त्रण गर्न यस्तो व्यवस्था लागू गर्न लागिएको हो।

सरकारका अनुसार अब सबै सार्वजनिक सवारी साधनमा सीसीटीभी अनिवार्य गरिनेछ, जसले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, राइड–शेयरिङ सेवाहरूमा पनि सुरक्षा मापदण्ड कडाइ गरिने भएको छ। सबै राइड–शेयरिङ एपहरूमा ‘एसओएस बटन’ अनिवार्य बनाइनेछ, जसमार्फत आकस्मिक वा खतराको अवस्थामा प्रयोगकर्ताले तुरुन्तै प्रहरीलाई सूचना पठाउन सक्ने व्यवस्था गरिनेछ। यो प्रणाली ३० दिनभित्र कार्यान्वयनमा ल्याइने सरकारको योजना छ।

महिलाहरूको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै सरकारले सातै प्रदेशमा निस्शुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने घोषणा समेत गरेको छ। यस सेवा मार्फत महिलाहरूलाई सुरक्षित, सहज र भरपर्दो यातायात सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

सरकारले यी कार्यक्रमहरूलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्दै सार्वजनिक यातायात प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ।