विदेशी अस्पतालमा उपचाररत श्रमिकको सहजताका लागि कार्यदल गठन
वि.सं.२०७९ साउन ६ शुक्रवार १६:२८
shares

काठमाडौं, ६ साउन । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा गम्भिर घाइते भएर अस्पतालको संघन उपचार गराइरहेकाहरु उद्धार तथा आवश्यक सहयोग गर्नका लागि कार्यदल गठन गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गरेर तीन सदस्यीय कार्यदल गठन गरेका हुन् ।
तीन सदस्यीय उक्त कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख रहने तथा सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक रहेने छन् । समितिले विशेष गरी वैदेशिक रोजगारीमा गएर विभिन्न कारणले सघन उपचारमा रहेका श्रमिकहरुको एकीकृत तथ्यांक तयार गर्ने, तिनीहरुलाई उद्धार गरी स्वदेशमा फर्काउने उपायहरुको पहिचान गर्ने, स्वदेशमा ल्याए पश्चात सरल एंव प्रभावकारी उपचारको व्यवस्थापन गर्ने र यस कार्यका लागि आवश्यक श्रोत, साधन वैदेशिक रोजगार बोर्डको कल्याणकारी क्रियाकलापबाट व्यहोर्ने काम गर्ने छ ।
साउदी अरबका विभिन्न अस्पतालमा गम्भीर अवस्थामा नेपाली विरामीका सम्बन्धमा परराष्ट्र मन्त्रालयले पटक–पटक लेखी पठाएको थियो । असार २८ गते परराष्ट्र मन्त्रालयको वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको सचिवालयका प्रतिनिधिहरुको समेत छलफल भएको थियो । उक्त बैठकले साउदी अरव सहितका रोजगारदाता मुलुकमा उपचार गराइरहँदा उपचार खर्च तिर्न नसकेका, भिसाको अवधी नाघिसकेका नेपालीहरुको समेत अवस्थालाई दृष्टिगत गर्दै उपचार, हेरचाह र व्यवस्थापनका लागि एक निर्देशिका तर्जुमा गरी सोहीअनुसार काम अगाडि बढाइने निर्णय गरेको थियो ।
त्यस्तै विदेशी अस्पतालहरुमा उपचाररत नेपाली नागरिकहरुको विवरण स्थायी ठेगाना, स्वास्थ्य अवस्था, रोगको प्रकृति, अस्पताल भर्ना मिति, भिषाको समयावधि लगायतका विषयमा अद्यावधिक गर्ने काम वैदेशिक रोजगार वोर्डको सचिवालयले गर्नेछ ।
सोही बैठकको छलफलको भावनाका आधारमा मन्त्री कुँवरले वैदेशिक रोजगार बोर्डको कल्याणकारी क्रियाकलापबाट आवश्यक स्रोत, साधनको व्यवस्थापन गर्ने गरी तीन सदस्यीय कार्यदल गठन गर्न मन्त्रालयका सचिवलाई निर्देशन दिएका हुन् ।















