GBIME

नेक्सजेन म्यानेजमेन्टको रुग्ण तथा बन्द उद्योग व्यवसाय सम्बन्धी परामर्श सेवा प्रारम्भ

882
shares

काठमाडौं, ३ भदौ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले रुग्ण तथा बन्द उद्योगको अवस्थालाई लिएर सर्भे र परामर्श सेवा प्रारम्भ गर्ने भएको छ ।

विगत केही वर्ष देखिको कोरोनाको असर तथा हालैका दिनमा देखा पर्न थालेको विश्वव्यापी आर्थिक मन्दीको कारण धेरै उद्योग व्यवसाय प्रभावित हुँदै गइरहेकाले यो परामर्श सेवा प्रारम्भ गरेको हो । बैंक वित्तिय संस्थामा निष्कृय कर्जाको भयावह स्थिति हुने अनुमान गरिदैछ ।

वैदेशिक मुद्रामा सहजता ल्याउन आयात नियन्त्रित हुनु र महगाईको कारण आम नेपालीको क्रयशक्ति कमजोर हुदै गइरहेकोले पनि संचालित धेरै उद्योग व्यवसाय बन्द भैसकेका छन । अधिकांश रुग्ण अवस्थामा जान थालेको पाइन्छ ।

देशमा ३५ हजार भन्दा बढीको संख्यामा रहेको सहकारी संस्थामा सम्बद्ध उद्योगी व्यवसायीको अवस्था पनि नाजुक हुदै गइरहेको छ । यस्तो जटिल अवस्थामा रुग्ण तथा बन्द उद्योगको यथार्थ अवस्था अध्ययन गर्ने र उनीहरुलाई उचित परामर्शको आवश्यकता रहेकाले यो सेवा संचालनमा ल्याएको हो ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स पूर्व बैंकर तथा उद्योगी व्यवसायीको संस्था हो । पुँजीको उचित परिचालन नहुँदा र बजारको व्यवस्थापन हुन नसक्दा उद्योग व्यवसाय राम्ररी चल्न नसकेको हो । यही तथ्यलाई विचार गरी भाद्र महिना भरी रुग्ण तथा बन्द उद्योग व्यवसायको सर्भे र अध्ययन गर्ने तथा आश्विन महिनाबाट न्यून शुल्कमा परामर्श सेवा दिन गइरहेको छ ।

उद्योग व्यवसाय चलाइरहेको, विभिन्न बैंकमा पूर्व कार्यकारी प्रमुखको जिम्मेवारी पनि सम्हालीसकेको हुँदा रुग्ण र बन्द उद्योगको उचित व्यवस्थापन तथा पुनः संचालन परामर्श दिई सहयोग गर्न सकिने विश्वास नेक्सजेन म्यानेजमेन्टले लिएको छ। रुग्ण तथा बन्द उद्योगको अध्ययन अनुसन्धानमा यस क्षेत्रका संघ संस्था र उद्योगि व्यवसायीले सक्दो सहयोग गर्ने विश्वास लिएको छ ।