सरकारी कर्मचारीको तलबमानबारे अध्ययन गर्न समिति गठन
वि.सं.२०७९ भदौ ६ सोमवार १९:०५
shares

काठमाडौं, ६ भदौ । सरकारी कर्मचारीहरुको असमान तलबमान हटाउनका लागि सरकारले समिति गठन गरेको छ । सरकारले पूर्व मुख्य सचिव लीलामणि पौडेलको नेतृत्वमा तलबमान अध्ययन गर्न समिति गठन गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यसचिव पौडेलको नेतृत्वमा तलबमान अध्ययन गर्न ३ सदस्यीय समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए । राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारी (नायव सुब्बा)हरु आफूहरुको तलब असमान रहेको भन्दै आन्दोलनमा छन् ।
केही दिन अगाडि नायव सुब्बाहरुको आन्दोलनप्रति सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलबमानमा रहेको असमानता हटाउने प्रतिबद्धता जनाएका थिए । बजेटमा सरकारले कर्मचारीको तलब १५ प्रतिशतका दरले तलब बढाएपछि समान पदको तलब समान नभएको भन्दै अर्थ मन्त्रालयले माथिल्लो पदका निजामती कर्मचारीको तलब २३ प्रतिशतसम्म बढाएको थियो । नायव सुब्बाहरुले त्यसको विरोधमा आन्दोलन चर्काएपछि अर्थमन्त्री शर्माले तलबमानमा समानता कायम गर्नका लागि अध्ययन गर्न समिति गठन गर्ने बताएका थिए ।



















