GBIME

प्रयोगविहिन नमुना माझी बस्तीका घरहरु

1.36K
shares

काठमाडौं, ३ मंसिर । विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन भएका छन् ।

भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले १ करोड ७ लाख खर्चेर नमूना वस्ती बनाएको थियो । फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझी बताउँछन् ।

बाक्लो नमूना वस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याएका छन् । माझीले वस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याएका छन् । तेह्र सदस्यीय परिवार नमूना वस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताए ।

तत्काललाई नमूना वस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीको भनाइ छ । उनका अनुसार केही माझी परिवारले नमूना वस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । वस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन् ।

तीनवटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमूना वस्तीका घरमा आधा भागसम्म ढुङ्गाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ । निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा वस्तीका घर अल्पकालीन संरचना भएको नमूना वस्ती उभभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताए । उनका अनुसार माझी वस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन् । वैकल्पिक घर बनाउँदा माझी परिवारलाई २ देखि १० लाख रुपैयाँसम्म ऋण लागेको उनले बताए ।

दीर्घकालीन सोच नराखी बनाइएको नमूना वस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ ।