Dhulikhel Eco Banner new

मिटरब्याज पीडितलाई प्रधानमन्त्रीसंग भेटाउने सहसचिव शर्माको आश्वासन

4.95K
shares

काठमाडौं, १४ चैत । मिटरब्याज पीडितलाई भेट्न टंगाल पुगेका गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्माले उनीहरुको माग सम्बोधनका लागि आवश्यक पहल गर्ने वचन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटार हिडेका मिटरब्याज पीडितलाई, सरकारी प्रतिनिधिको नेतृत्व गर्दै टंगालमा भेटेर गृह मन्त्रालयका सहसचिव शर्माले माग सम्बोधन गर्न सरकारले प्रयास गरिरहेको आश्वासन दिएका हुन् ।

पीडितले प्रत्यक्ष प्रधानमन्त्रीलाई भेटाउन भनेपछि उनले प्रधानमन्त्रीसंग भेट्ने वातावरण बनाउन आफैँले पहल गर्ने बताएका छन् । पीडितसंग सहसचिव शर्माले पीडितको समस्या वर्षौ देखिको भएको भन्दै एकै दिनमा समाधान गर्न नसक्ने तर आवश्यक कानून निर्माण गरेर समस्या समाधानको पहल थालिएको बताए ।
त्यसका लागि गृह मन्त्रालयदेखि प्रमुख जिल्ला अधिकारी रसम्बन्धित निकायले समन्वयन गरेर समस्या समाधानका लागि काम गरिरहेको उनको भनाई छ ।

पिडितलाई भेटेपछि उनले भने ‘कानून बनाउने विषय अघि बढिराखेको छ । प्रमुख जिल्ला अधिकारीहरुले काम गरिराख्नु भएको छ । कतिपय विषय कानून बनाएर संशोधन गर्नुपर्ने छन् । अन्तर निकायका बीचमा समन्वयन गर्नुपर्ने भएकाले अलिकति ढिला भएको हो, कामै नगरी बसेको चाहिँ छैनौ हामी । ’

पीडितलाई सकेसम्म चाँडो न्याय दिने प्रयास गरिरहेको भन्दै शर्माले यो पटक लामो समय उनीहरूलाई काठमाडौं बस्न नपर्ने गरी काम गर्ने जिकिर गरे । उनले सरकारले ३४६ जनाको समस्या समाधान गरिसकेको भन्दै बाँकी समस्या समाधान गर्न सरकारले प्रयास गरिरहेको बताए । ११ दिने लामो पैदल यात्रा गरेर सोमबार काडमाडौं आएका मिटरब्याज पीडितलाई मंगलवार बिहान प्रधानमन्त्रीलाई भेट्न जाने क्रममा प्रहरीले टंगालमै रोकेको थियो ।

मिटरब्याज पीडितलाई प्रहरीले रोकेकै स्थानमा पुगेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्की सहितको टोलीले उनीहरुको समस्या समाधानमा सरकारी प्रयासबारे जानकारी गराउँदै आन्दोलन रोक्न आग्रह गरेको हो।