Dhulikhel Eco Banner new

आर्थिक मन्दीकाे मारमा परेका व्यवसायीलाई राजश्व थप पिडा

6.6K
shares

काठमाण्डौं, १४ चैत । राजश्व अनुसन्धान विभागले विरगञ्ज नाका भएर कपडाको आयात व्यापार गर्दै आएका न्युरोडका व्यवसायीहरुलाई दुःख दिएको उनीहरुले बताएका छन् । वीरगञ्ज नाका भएर त्यहाँको भन्सार कार्यालयलाई सामानको सरकारी मुल्याङकन अनुसार नै भन्सार तिरेपनि मुल्याङकन नदिने, वीरगञ्जको भन्सारले सिल गरेर पठाएपनि काठमाडौंमा प्रज्ञापन हेरेर मान्यता नदिने गरेको व्यवसायीहरुको गुनासो गरेका हुन् ।

व्यवसायीहरुको अहिले करिव २५ ट्रक सामान राजश्व अनुसन्धान विभाग हरिहरभवनमा थन्किएर बसेको छ । वीरगञ्जको भन्सार कार्यालयले मान्यता दिएपछी काठमाडौं ल्याइएको सामानमा राजस्व अनुसन्धान विभागले मान्यता नदिएका कारण व्यवसायीको सामान विभागको गोदाममा थन्कीएको हो । भन्सार विभागको नयाँ महानिर्देशक नारायणप्रसाद सापकोटा आएसँगै आफुहरुले दुख पाएको र यसअघि सो खालको समस्या नआएको न्युरोडमा होलसेल पसल चलाउँदै आएका राजेश कुमारको भनाइ छ । ‘सुनौली नाकाबाट भन्सार नतिरी दुइ नम्बरी हिसावले माल समान ल्याउनेहरुलाई वेवास्ता गरिएको छ, तर हामीहरु विरगञ्जबाट भन्सार तिरेर काम गरिरहेकाहरुलाई राजश्व अनुसन्धान विभागले दुख दिइरहेको छ,’ उनले भने । दुई महिनाको बीचमा हामीहरु सबैलाई जर्वजस्ती पेनाल्टी लगाउने काम भइरहेको उनले दुखेसो गरे ।

राजस्व अनुसान्धान विभागको कारण आफुहरुको व्यवसाय ठप्प हुने अवस्था आएको र काम गर्ने जोश जाँगर हराएको उनले बताए । यो समस्याबाट न्यूरोडका धेरै व्यापारि समस्यामा परेको उनको भनाइ छ । यो अवस्थामा व्यवसायीहरुका सामु दुई वटा मात्रै विकल्प रहेको उनी बताउँछन् । ‘व्यवसायीहरु अहिले पसल बन्द गरेर बस्ने वा आन्दोलनमा जाने विकल्प मात्रै बाँकी छन्,’ उनले भने ।
आफुहरुले सरकारी दरको मुल्यांकन अनुसार नै कुर्था, सारी लगायत कपडाहरुको भन्सार तिरेर काठमाडौं ल्याएपनि कम मुल्याङकन भयो भन्दै राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिने गरिएको अर्का व्यवसायी शंकर प्रसाद साहले बताए । ‘बढी भन्दा बढी राजश्व उठाउने ध्याउन्नमा नयाँ महानिर्देशकले व्यवसायीलाई लखेटिरहेका छन्,’ उनले भने, ‘सयौँ व्यवसायीहरुको करोडौंको सामान अलपत्र भएको छ । डुब्ने अवस्था सिर्जना भएको छ ।’ नयाँ महानिर्देशकले व्यवसायीलाई प्रोत्साहन गर्नुको साटो ‘मुद्धा हाल, अदालत आउ’ भनेर आफुहरुलाई हप्काउने गरेको व्यवसायीहरुको गुनासो छ ।

सामान राजश्वले नियन्त्रण गरेको कारण व्यापार गर्न नपाएर आर्थिक समस्याहरु उब्जिएको, बैंकको ऋण तिर्न समस्या भएको, मानसिक समस्या देखिन थालेको, ‘गर या मर’को अवस्था सिर्जना भएको अर्का व्यवसायी अजय साहको भनाइ छ ।