सरकारी विज्ञापनमा व्यापक चुहावट छ : सञ्चारमन्त्री शर्मा
वि.सं.२०७९ चैत १७ शुक्रवार १२:२०
shares

काठमाडौं, १७ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारी विज्ञापनमा व्यापक चुहावट रहेको बताएकी छिन् । शुक्रबार लुम्बिनीमा सुरु भएको राष्ट्रिय मिडिया सम्मेलनको उद्घाटन शत्रमा बोल्दै विज्ञापनमा हुने चुहावट रोक्न पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने सञ्चारमन्त्री शर्माले बताएकी हुन् ।
सरकारले विज्ञापनका लागि धेरै ठूलो रकम खर्च गर्ने तर सञ्चारमाध्यमले कम मात्रै रकम पाउने भन्दै उनले यसलाई कसरी हुन्छ सुधार गर्नुपर्ने बताइन् । मिडिया सञ्चालकले पनि यति भन्दा कममा नलिने भनेर सिलिङ बनाउनु पर्ने उनको सुझाव थियो । सरकारले बनाउने ऐन नियममा सल्लाह सुझाव दिएर सहयोग गर्न समेत उनले पत्रकार महासंघलाई अनुरोध गरिन् ।
कतिपय कानूनहरु बन्नै नदिने गरि काम हुने गरेको भन्दै उनले गुनासो पनि गरिन् । सरकारले अहिले नयाँ दुरसञ्चार ऐन बनाउन लागेको बारेमा धेरै नकारात्मक टिप्पणी भएको पनि बताइन् । बाहिर आएको जस्तो विधेयकमा अनावश्यक विषयहरु नरहने समेत उनको भनाइ थियो । अहिले दुरसञ्चार ऐनको ड्राफ्ट पनि तयार भइनसकेको भन्दै अब सबै स्टेक होल्टरहरुसँग परामर्श लिएर मात्रै विधेयकले अन्तिम रुप पाउने उनले बताइन् ।



















