समिट होटल निर्माणमा साझेदार मात्रै हौँ : सीजी डेभलपर्स
वि.सं.२०७९ चैत २८ मंगलवार १६:४३
shares

काठमाडौं, २८ चैत । समिट होटल प्रा. लि.ले विकास गरिरहेको परियोजनासँग सीजी डेभलपर्सको संलग्नता नरहेको बताएको छ । सीजी डेभलपर्सले विज्ञप्ति जारी गरेर समिट होटलसँग जोडेर सार्वजनिक भएका समाचार एवं सामाजिक सञ्जालमार्फत् गरिएका टिकाटिप्पणीहरूप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको हो ।
‘समिट होटल प्रा. ली. मा उक्त होटल संचालनमा रहेको समयदेखि अहिले समिट रेसिडेन्सीको परियोजनासम्ममा सीजी डेभलपर्स जम्मा ३० प्रतिशतको साझेदार हो । बाँकी ७० प्रतिशत हिस्साको साझेदारहरूमा रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उहाँहरूको परिवार रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । समिट होटल प्रा. ली. ले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं संचालनको जिम्मेवारी संचित श्रेष्ठले लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैले यस परियोजनाको निर्माणक्रममा सीजी डेपलपर्स व्यवस्थापन र संचालनमा संलग्न नरहेको विज्ञप्तिमा भनिएको छ ।
‘सीजी डेभलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित छन् र ति परियोजनाले नेपालको रियल स्टेट सेक्टरमा छुट्टै पहिचान स्थापित गरेका छन् भन्ने बारेमा हामी विदितै छौं । सीजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सीजी हिल्स, माउण्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३) विकास गरेको हो । र, अहिले ललितपुरको भैंसेपाटीमा सीजी हिल्स प्रिमियम विकास गरिरहेको छ । यी परियोजनाहरूको व्यवसायिक व्यवस्थापन र संचालन सीजी डेभलपर्सले गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘समिट होटल प्रा. ली. को परियोजनाका सम्वन्धमा यस परियोजनाका आधिकारिक प्रवक्ताका रूपमा संचित श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको बिषय हामीलाई पनि जानकारी भएको छ । र, यस सम्वन्धमा आवश्यक थप जानकारी उहाँमार्फत् नै आउनेछन् भन्नेमा पनि हामी सबैलाई विश्वस्त रहन आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको ।




















