घरबाटै नो अब्जेक्शन लेटर लिन सकिने
वि.सं.२०८० जेठ १ सोमवार १३:०८
shares

काठमाडौं, १ जेठ । वैदेशिक अध्ययनका लागि प्रदान गरिने स्वीकृति पत्र अब घरबाट लिन सकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा एनओसीले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र एनओसी लिनसक्ने व्यवस्था गरेसँगै घरबाट त्यो सेवा लिन सकिने भएको हो ।
सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्था सुरु गरिएको छ । २०७७ साल भदौ १२ गतेदेखि सेमी अनलाइन (अनलाइन मार्फत आवेदन दिनसक्ने र मिति लिन सक्ने) सेवा पाइरहेका विद्यार्थीले जेठ १ गतेदेखि पूर्णरुपमा अनलाइन सेवा पाउने भएका हुन् ।
शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको बताएको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफैंले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था सुरु हुनु प्रशंसनीय भएको बताए ।
‘नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक पनि गुहार्नु नपर्ने, आफैँले कोठामा बसीबसी आफ्नै कम्प्युटरबाट फर्म भर्न सक्ने आफैँले प्रिन्ट आउट गर्नसक्ने सर्टिफिकेट, त्यहीँबाट पैसा तिर्नसक्ने व्यवस्थामा प्रवेश गर्नु भनेको प्रशंसनीय काम हो,’ उनले भने ।



















