Dhulikhel Eco Banner new

प्रधानमन्त्री दाहाल दुबईमा

5.3K
shares

काठमाडौं, १४ मसिंर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप–२८मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् । स्थानीय समयानुसार गए राति करिब १ः३० बजे दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

दुबई विमानस्थलमा प्रधानमन्त्री दाहाललाई युएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री, नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सीलगायत युएईस्थित दूतावासका अधिकारीले स्वागत गरेका थिए। प्रधानमन्त्री दाहालले आज राजधानी आबुधाबीस्थित नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम छ । उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन् ।

यस सम्मेलनमा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानि तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने बताइएको छ ।

यसैगरी सम्मेलनमा लैंगिक, स्थानीय समुदाय, आदिवासी, युवाको चासो र सरोकार, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिलगायत विषयलाई समेत प्राथमिकताका साथ उठाउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्मेलनमा प्रस्तुत गर्नका लागि उक्त विषयलाई समेटेर ‘राष्ट्रिय स्थिति पत्र’ तयार गरेको छ ।