Dhulikhel Eco Banner new

नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सुरू

3.37K
shares

काठमाडौं, १८ पुस । नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ ।

लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो । ३ हजार ९ सय मिटरमा सञ्चालनमा आएको यस स्कुलमा हाइ अल्टिच्युडमा प्याराग्लाइडिङ गर्न चाहनेहरुले तालिम लिन सक्नेछन् ।

नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा स्कुल सञ्चालनमा ल्याइएको कम्पनी सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए । स्कुलमा उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने, कसरी उडाउने भन्नेबारे सिकाइने उनको भनाइ छ ।

प्याराग्लाइडिङ स्कुलका लागि आवश्यक पूर्वाधार तयारीमा दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको छ । साथै अन्य सुविधाहरू पनि क्रमशः विस्तार गरिने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।

उनले गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य गन्तब्यको पर्यटकीय प्रवर्द्धन गर्नका लागि पनि प्याराग्लाईडिङ स्कुल महत्वपूर्ण हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ ।

पालिकामा प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएपश्चात स्थानीयलाई समेत नयाँ अवसर सिर्जना हुँदै जाने उनी बताउँछन् । ‘पर्यटकीय क्षेत्रमा नै स्कुल सञ्चालन हुँदा स्थानीयलाई रोजगारीको अवसर पनि सिर्जना हुन्छ । यसबाहेक स्थानीयले तालिम समेत लिन मिल्ने भएपछि रोजगारीको नयाँ अवसर समेत पाइने देखिन्छ ।’ अधिकारीले भने ।

बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले यसअघि ९ बर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ स्कुल सञ्चालन गर्दै आएको छ ।

प्याराग्लाइडिङ स्कुलसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् । हालैमात्र रेडबुलको एड्भेन्चर टिम नेपाल आएर स्कुल अवलोकन भ्रमण गरेको थियो । त्यसपश्चात उनीहरुले स्कुलसँग सहकार्य गर्ने प्रतिबद्धता दिएको सञ्चालक सुनुवारले जानकारी दिए ।

अब नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक हाई अल्टिच्युड प्याराग्लाइडिङको मज्जा लिन पनि आउने नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भट्टराई बताउँछन् ।