Dhulikhel Eco Banner new

फिनल्याण्डको फिनफण्डले वर्ल्डलिंकमा गर्‍यो एक अर्ब ४२ करोड लगानी

3.17K
shares

काठमाडौं, १३ मंसिर । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्समा फिनल्याण्डको सरकारी फण्डिङ कम्पनी फिनफण्डले १ अर्ब ४२ करोड नेपाली रुपैयाँ लगानी गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फिनल्याण्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिनेछ । सम्झौतापछि फिनफण्डका वरिष्ठ लगानी प्रवन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनल वर्ल्डलिङ्कले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरु विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको बताए । डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको उनले स्पष्ट पारे ।

त्यस्तै, वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले फिनफण्डको लगानी नेपालको हरेक कुनालाई तिब्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्ने कम्पनीको लक्ष्यमा एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने बताए । ‘हामो फाइबर नेटवर्क विस्तार गरेर तथा विश्वस्तरीय डाटा सेन्टर स्थापना गरेर, हामीले शहर र ग्रामीण भेग बिचमा देखिएको डिजिटल विभेदलाई हटाउने र देशभर डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्य राखेका छौं,’ उनले भने ।

फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिंकको सहकार्यले वर्ल्डलिंकका ग्राहकहरुका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तीव्र गतिको र थप विश्वसनिय बनाउने लक्ष्य राखेको उनले बताए ।