दोर्दी खोलाको आईपीओमा करिब ९ गुणा बढी आवेदन
वि.सं.२०७९ जेठ ३१ मंगलवार १९:१०
shares

काठमाडौं, ३१ जेठ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओमा करिब ९ गुणा बढी आवेदन परेको छ । कम्पनीले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओमा ३१ गते अन्तिमदिनसम्म १५ लाख ५९ हजार ५८ जनाले आवेदन परेको हो । यो ८.८५ गुणाले बढी हो ।
उक्त आवेदनबाट एक अर्ब ७८ करोड ७५ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ७५ हजार ६२० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता शेयरको ८.८५ गुणा बढी हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
त्यसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर मात्रै वितरण हुनेछ ।
माग भन्दा बढी आवेदन परिकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार २ लाख १ हजार ९८६ जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् ।















