Dhulikhel Eco Banner new

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई टिकटमा ५० प्रतिशत छुट

4.16K
shares

काठमाडौं, २ कात्तिक । आन्तरिक वायुसेवा कम्पनीहरूले अब ७० वर्षभन्दा बढी उमेर भएका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने भएका छन्। यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच आइतबार सहमति भएको हो। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा संघका अध्यक्ष मनोज कार्की र वायुसेवा कम्पनीका प्रतिनिधिबीचको बैठकले यस्तो निर्णय गरेको हो।

प्राधिकरणका अनुसार उक्त छुट सबै आन्तरिक हवाई मार्गहरूमा लागू हुनेछ र यो छुट सरकारले तोकेको अधिकतम भाडा दरको आधारमा हुनेछ। ७५ वर्षभन्दा माथिका यात्रुले ७० प्रतिशत र ८० वर्षभन्दा माथिका यात्रुले ८० प्रतिशतसम्मको छुट पाउने व्यवस्था गरिएको छ।

साथै, जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुलाई पनि न्यूनतम ५० प्रतिशत छुट दिइनेछ। यो निर्णय आइतबारदेखि नै कार्यान्वयनमा ल्याइएको छ र प्राधिकरणले सबै वायुसेवा कम्पनीहरूलाई सोबारे आवश्यक निर्देशन दिइसकेको छ।

यस निर्णयबाट ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूलाई हवाई यात्रा गर्न थप सहज र सुलभ हुने अपेक्षा गरिएको छ।