Dhulikhel Eco Banner new

प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी माग

4.47K
shares

काठमाडौं, २४ पुस । नेपाल प्रहरीले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि दरखास्त आह्वान गरेको छ।

प्रहरीका अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न जान्ने, फौजदारी कसूरमा अदालतबाट सजाय नपाएका, कुनै पनि राजनीतिक दलको सदस्य नरहेका तथा शारीरिक एवं मानसिक रूपमा स्वस्थ नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

निर्वाचन प्रहरी भर्ना प्रक्रियामा पूर्व सुरक्षाकर्मी वा वन रक्षक, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलमा २०८१ माघ १ गतेदेखि २०८२ पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। यस्तै, यसअघि म्यादी प्रहरीका रूपमा सन्तोषजनक सेवा प्रदान गरेका तथा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई समेत प्राथमिकतामा राखिने जनाइएको छ।

योग्य तथा इच्छुक व्यक्तिले पुस २५ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म दरखास्त दिन सक्नेछन्। सार्वजनिक बिदाका दिन समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। दरखास्त देशका जुनसुकै जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ।

निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले ठूलो संख्यामा निर्वाचन प्रहरी माग गरिएको प्रहरीको भनाइ छ।