Dhulikhel Eco Banner new

विदेशी बुबा भएका पाँच जनाले पाए अङ्गीकृत नागरिकता

5.02K
shares

काठमाडौं, २३ माघ । आमा नेपाली र बुबा विदेशी भएका पाँच जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषदबाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयबाट बुबा विदेशी भएका पाँच जनाले आमाको नामबाट अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन् ।

नागरिकता ऐनमा भएको संशोधनअनुसार हालसम्म नागरिकता प्राप्त गर्न आवश्यक कागजात पेस गरेका पाँच जनालाई आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका तीन, हेटौँडा उपमहानगरपालिका–४ का एक र राक्सिराङ्ग गाउँपालिकाका एक गरी पाँच जनाले नागरिकता पाएका उनले बताए । आमाको नेपाली नागरिकता भए पनि बुबा विदेशी हुँदा नागरिकता पाउन नसकेका ती पाँचै जनाले लामो समयदेखि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय धाउँदै आएका थिए ।

नागरिकता ऐन संशोधन भएपछि उहाँहरूलाई नागरिकता प्रदान गरिएको सहायक प्रजिअ जोशीले बताए । उनका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन गरिएको हो ।

बुबा विदेशी रहेको प्रमाणका आधारमा आमाको नामबाट नागरिकता दिन सकिने पछिल्लो नागरिकता निमवालीमा व्यवस्था भएअनुसार पाँचै जनालाई नागरिकता दिइएको सहायक प्रजिअ जोशीको भनाइ छ ।