होटल फरेष्ट इनको आईपीओ भर्ने माघ २६ अन्तिम दिन
वि.सं.२०८२ माघ २५ आइतवार १२:०४
shares

काठमाडौं, २५ माघ । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओ भोलि, माघ २६ गते अन्तिम दिन रहेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ जारी गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा ४ लाख कित्ता शेयर जारी र बाँडफाँड गरिसकिएको छ।
अब बाँकी रहेको ३६ लाख कित्तामध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ८० हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित राखिएको छ भने बाँकी ३३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको छ। आईपीओमा आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता माग गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीले जनाएको छ कि यस आईपीओमा ३ लाख ३२ हजार आवेदकले १०र१० कित्ताका दरले शेयर पाउनेछन्, जबकि बाँकी सबै आवेदकको हात रित्तो रहनेछ।
आईपीओको रेटिङ्ग इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले ‘डबल बी माइनस इस्यूअर’ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।
यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडले रहेको छ।















