ब्रोकरले आफ्नै टीएमएस चलाउन सक्ने
वि.सं.२०७९ असार १४ मंगलवार १८:०८
shares

काठमाडौं, १४ असार । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले अब आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्न पाउने भएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (NEPSE) ले धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावली, २०७९ स्वीकृत गरेसँगै ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालनको बाटो खुलेको हो ।
हाल ब्रोकरले नेप्सेको भेन्डर कम्पनी वाइकोले तयार पारेको टीएमएस सञ्चालन गर्दै आएका छन् । नेप्सेको टीएमएसमा बारम्बार समस्या देखिएपछि ब्रोकरहरूले आफैले विकास गरेको वा खरीद गरेको टीएमएस चलाउन पाउनुपर्ने माग गर्दै आएका थिए ।
नेप्सेले पूर्ण अनलाइन कारोबार प्रणाली लागू गर्दाको समयमै ब्रोकरलाई नेप्सेको बाहेक अर्को टीएमएस नेप्सेको प्रणालीसँग जोडेर चलाउन सकिने बताएको थियो । तत्काल अन्य विकल्पमा नगई ब्रोकरहरूले नेप्सेकै टीएमएस सञ्चालन गर्दै आएका हुन् ।
नेप्सेले टीएमएस प्रणालीलाई व्यवस्थित बनाउन कार्यविधिसमेत जारी गरेको छ । नेप्सेले अनलाइन तथा अफलाइनमार्फत धितोपत्रको कारोबार गर्न विकास गरेको कारोबार व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि, २०७९ जारी गरेको हो । धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावली, २०७९ को विनियम ३९ उपविनियम १(ग) बमोजिम नेप्सेले यो कार्यविधि बनाएको हो ।
उक्त कार्यविधिमा ब्रोकरले नेप्सेको कारोबार व्यवस्थापन प्रणाली प्रयोग गर्न वा आफ्नै प्रणाली विकास वा खरीद गरी प्रयोग गर्न नेप्सेको प्रणालीसँग जडान गर्न विवरण खुलाई निवेदन दिनुपर्ने उल्लेख छ ।
यो कार्यविधि लागू हुँदाका बखत नेप्सेको कारोबार व्यवस्थापन प्रणाली प्रयोग गरिरहेका कारोबार सदस्यले कार्यविधि लागू भएको ३० दिनभित्र तोकिएबमोजिमको दस्तुरसहित निवेदन दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।
ब्रोकरले आफूसँग भएको प्राविधिक क्षमता, जनशक्तिको व्यवस्था, प्रणाली विकास वा खरीद परियोजनाको विस्तृत विवरण पेश गर्नु पर्नेछ । ब्रोकरले पेश गरेको सूचना प्रविधिसम्बन्धी पूर्वाधार तथा त्यससम्बन्धी विवरण ३० दिनभित्र निरीक्षण तथा चेकजाँच गर्ने व्यवस्था कार्यविधिमा छ ।
निरीक्षण सम्पन्न भएपछि तथा नेप्सेले उपयुक्त देखेमा कारोबार सदस्यलाई १ महीनाभित्र प्रणाली खरीद वा विकास गर्न सैद्धान्तिक सहमतिको साथै प्रणाली जडानसम्बन्धी एपीआई डकुमेन्ट प्रदान गर्नेछ । आफ्नै प्रणाली विकास वा खरीद गरी प्रयोग गर्ने कारोबार सदस्य र उक्त प्रणाली विकास गर्ने वा उपलब्ध गराउने कम्पनीबीच सम्झौता गरी नेप्सेलाई जानकारी गराउनु पर्नेछ ।















