Dhulikhel Eco Banner new

नासा नेपालद्वारा नवनिर्वाचित सांसदद्वयलाई बधाई, सडक सुरक्षा र साहसिक पर्यटनमा ध्यानाकर्षण

7.61K
shares

काठमाडौं, १० चैत । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)ले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू सिन्धुलीका आशिष गजुरेल र बागलुङका सोम शर्मालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा नासा नेपालले सांसदद्वयलाई बधाई ज्ञापन गर्दै नेपाली सडक, यातायात व्यवस्थापन, अटोमोबाइल क्षेत्र, सडक सुरक्षा, साहसिक खेलकुद तथा दिगो पर्यटनसँग सम्बन्धित विषयमा ध्यानाकर्षण पत्रसमेत हस्तान्तरण गरेको हो ।

कार्यक्रममा विभिन्न संघ–संस्थाहरूले निर्वाचनअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत प्रमुख राजनीतिक दलहरूलाई यस्ता सुझावहरू प्रस्तुत गरेको स्मरण गराउँदै, हाल रास्वपाबाट निर्वाचित सांसदहरू सरकार निर्माणको महत्वपूर्ण अवस्थामा रहेको उल्लेख गरिएको छ ।

अल्पाइन स्पोर्ट्स फेडेरेसन–नेपालसँगको सहकार्यमा सम्पन्न कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, राष्ट्रिय खेलकुद परिषद् (राखेप)की कार्यकारी सदस्य सुवर्ण केशरी श्रेष्ठ तथा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले सांसदद्वयलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

यसैगरी, नासा नेपालका उपाध्यक्ष अनिल कुमार बराल र सिताराम न्यौपाने, अल्पाइन स्पोर्ट्स फेडेरेसन–नेपालका अध्यक्ष गोविन्द भट्टराई, रोड सेफ्टीका पीएचडी स्कलर भगवती सेढाई, कर्णाली अल्पाइन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष देविकृष्ण रोकायालगायत अन्य पदाधिकारीहरूले पनि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा आशिष गजुरेललाई अटोमोबाइल, यातायात व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी विषयमा र सोम शर्मालाई साहसिक खेलकुद तथा दिगो पर्यटनसम्बन्धी विषयमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै सांसद गजुरेलले आफ्नो शैक्षिक, व्यावसायिक तथा राजनीतिक अनुभवलाई आधार बनाएर सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाए । उनले नासा नेपालप्रति आत्मीयता व्यक्त गर्दै संघका दक्ष र अनुभवी व्यक्तिहरूलाई आगामी सरकारी पहलमा सहकार्य गर्न आह्वान गरे ।

त्यसैगरी, सांसद शर्माले नेपाली खेलकुद, विशेषगरी साहसिक खेलकुदको विकासमा आफ्नो नेतृत्व रहने उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनका लागि नासा नेपाल र अल्पाइन स्पोर्ट्स फेडेरेसन–नेपालको सहयोग आवश्यक रहने बताए । उनले गण्डकी प्रदेश र बागलुङलाई साहसिक तथा पर्यटकीय खेलकुदको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।