५ लाखभन्दा माथिको नगद कारोबारमा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह
वि.सं.२०८२ चैत १० मंगलवार ११:२९
shares

काठमाडौं, १० चैत । नेपाल राष्ट्र बैंकले नगद कारोबारको सीमा बुझेर सचेत रूपमा आर्थिक गतिविधि सञ्चालन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले जारी गरिएको सन्देशमा केन्द्रीय बैंकले नगद भुक्तानीसम्बन्धी नियमहरूबारे जानकारी लिनुपर्ने आवश्यकता औंल्याएको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको ‘एकीकृत निर्देशन, २०८२’ मा चेक क्लियरिङ तथा भुक्तानीसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ। उक्त निर्देशनअनुसार ५ लाख रुपैयाँ वा सोभन्दा बढी रकम भुक्तानी गर्दा अनिवार्य रूपमा ‘एकाउन्टपेयी चेक’ वा सम्बन्धित व्यक्तिको बैंक खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ।
यस्तै, फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा जारी गरिएका चेकहरूको भुक्तानीसमेत एकाउन्टपेयीमार्फत नै गर्नुपर्ने प्रावधान रहेको छ। यसले पारदर्शिता बढाउनुका साथै वित्तीय अनुशासन कायम गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ।
तर, विशेष कारणसहित निक्षेपकर्ता वा बचतकर्ताले नगद भुक्तानी माग गरेमा भने बैंकले त्यसको कारण मनासिब ठहरिएपछि तोकिएको सीमाभन्दा बढी नगद भुक्तानी गर्न सक्ने व्यवस्था पनि निर्देशनमा उल्लेख गरिएको छ। साथै, बैंक तथा वित्तीय संस्थाहरूबीच दैनिक कारोबार सञ्चालनका लागि आवश्यक पर्ने नगद भुक्तानीमा भने यो सीमा लागू नहुने जनाइएको छ।
राष्ट्र बैंकले सर्वसाधारणलाई यस्ता प्रावधानबारे जानकारी राखी सुरक्षित, पारदर्शी र व्यवस्थित वित्तीय कारोबार गर्न आग्रह गरेको छ।



















