Dhulikhel Eco Banner new

​पूर्वमन्त्री दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु

4.25K
shares

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) सम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

​नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार खड्कालाई आइतबार काठमाडौंबाटै पक्राउ गरिएको हो। खड्कामाथि लामो समयदेखि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र शंकास्पद कारोबारमा संलग्न रहेको आरोप लाग्दै आएको थियो।

​विवादको पृष्ठभूमि र अनुसन्धानको घेरा

​खड्का विशेषगरी लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिएर निजी प्रयोजन र व्यावसायिक लाभका लागि प्रयोग गरेको विवादमा मुछिएका थिए। उक्त जग्गा प्रकरणमा उनीमाथि नीतिगत भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोप छ।

​त्यसैगरी, ‘जेनजी’ आन्दोलनका क्रममा उनको निवासमा भएको आगजनीको घटनाले पनि यो अनुसन्धानमा नयाँ मोड ल्याएको थियो। सो समयमा घरबाट पैसाका बिटाहरू उडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको वास्तविक सम्पत्ति र स्रोतमाथि प्रश्न उठेको थियो।

​सीआईबीको तयारी

​सीआईबी स्रोतका अनुसार खड्कालाई आजै अदालत उपस्थित गराइ म्याद थप गर्ने तयारी भइरहेको छ। “सम्पत्ति शुद्धीकरण विभागसँगको समन्वयमा उनीमाथि थप गहन अनुसन्धान अघि बढाइनेछ,” सीआईबीका एक अधिकारीले जानकारी दिए।

​खड्का संखुवासभाबाट निर्वाचित पूर्वसांसद समेत हुन्। उनलाई पक्राउ गरिएसँगै राजनीतिक वृत्तमा समेत तरंग पैदा भएको छ।